संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा कृष्टिना भण्डारीको स्मृतिमा मिति २०८० जेठ २ गते मङ्गलबार क्यान्सर रोगसँगसम्बन्धी परामर्श र निबन्ध लेखन प्रशिक्षण सहितको इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिता २०८० सम्पन्न गरियो । प्रतियोगितामा विभिन्न ३२ विद्यालयका ३८ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगिताअघि प्रशिक्षण दिनुहुँदै दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्माले आधुनिक उपचार पद्धतिले चौथो स्टेजको आफ्नो क्यान्सर समेत निको भएका उदाहरण प्रस्तुत गर्नुहुँदै क्यान्सरलाई आत्माविश्वासले जितेर अवसरका रूपमा उपयोग गर्न सकिने र क्यान्सरपश्चात अझै सुन्दर ढङ्गले जीवन चलाउन सकिने बताउनुभयो ।
वाल्मीकि क्याम्पसका उप-प्राध्यापक डा. शेखर दाहालले निबन्ध लेखनका कुराहरूलाई मिहिन ढङ्गले केलाउँदै एउटा असल निबन्ध तयार पार्न ध्यान दिनुपर्ने सम्पूर्ण कुराहरू सिकाउनुभएको थियो ।
जोरपाटीस्थित याम्ब्यासडर एकेडेमीमा सञ्चालित कार्यक्रममा आयोजक विद्यालयका प्रिन्सिपल मोहन मल्लको सभापतित्वमा सञ्चालित कार्यक्रममा इसान पूर्व अध्यक्ष परिषदका अध्यक्ष राजकुमार श्रेष्ठले स्वागत मन्तव्य दिनुहुँदै कार्यक्रमले पुरस्कार दिने र निबन्ध लेखन सिकाउने मात्र नभएर क्यान्सर रोग विरुद्धको सचेतना फैलाउने प्रमुख उद्देश्य राखेको बताउनु भयो ।
कक्षा ४ मा अध्ययन गर्दागर्दै क्यान्सर रोगका कारण असामयिक निधन
भएकी कृष्टिना भण्डारीको सम्झनामा क्यान्सर रोगलाई नै विषय बनाएर संस्थापक विद्यालय संघ नेपाल (इसान) ले हरेक वर्ष निबन्ध प्रतियोगिता आयोजना गर्दै आएको छ ।
यस प्रतियोगिताको पुरस्कार वितरण अर्को कार्यक्रममा गरिने कुरा आयोजकले बताएको छ । कार्यक्रमलाई इसानका महा-सचिव, अलमाइटी स्कुलका प्रिन्सिपल तथा साहित्यकार गणेशप्रसाद खतिवडाले सञ्चालन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।