नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईलाई भेटेर साहित्यिक पत्रकारहरुले साहित्यिक पत्रकारितासम्बन्धी राष्ट्रिय पुरस्कारको माग गरेका छन् । नेपाल साहित्यिक पत्रकार संघका सदस्य तथा साहित्यिक पत्रकारहरुको बृहत् प्रतिनिधि मण्डलले प्रतिष्ठानका कुलपति राईलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रतिनिधि मण्डलले ‘साहित्यिक पत्रकारिता राष्ट्रिय पुरस्कार’को माग गरेर कुलपतिको ध्यानाकर्षण गराउँदै पत्र बुझाएको हो । ज्ञापनपत्रमा ‘‘नेपाल प्रज्ञा–प्रतिष्ठान अन्तर्गत ‘साहित्यिक पत्रकारिता राष्ट्रिय पुरस्कार’को घोषणा गरियोस्’’ भन्ने माग गरिएको छ ।

साहित्यिक पत्रकारहरुलाई कुलपति राईले दुईवटा साहित्यिक पत्रकारिता सम्बन्धी राष्ट्रिय पुरस्कार घोषणा गर्ने आश्वासन दिएका छन् । प्रतिनिधि मण्डलमा सहभागी एक सदस्यका अनुसार राईले भनेका छन्, ‘‘सम्भावना र अनुकुलताअनुसार एक नेपाली भाषा र दोस्रो मातृभाषा गरी साहित्यिक पत्रकारितासम्बन्धी दुई पुरस्कार घोषणा गर्न पहल गर्ने छु ।’’