
शताब्दी साहित्य प्रतिष्ठान तथा इण्डिगो इन्क प्रकाशनको आयोजनामा काव्यविधामा कलम चलाइरहनु भएकी अन्जना पौडेलको उपन्यास ‘चरिमाई’ नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एक विशेष कार्यक्रम आयोजना गरी विमोचन गरियो ।
कवि तथा समालोचक प्रा. डा. बेन्जु शर्माको प्रमुख आतिथ्य तथा शताब्दी साहित्य प्रतिष्ठानकी उपाध्यक्ष रन्जु दाहालको सभापतित्व एवं विशेष अतिथि कथाकार प्राज्ञ माया ठकुरी तथा प्रा. डा. ज्ञानु पाण्डे, विश्लेषक ज्ञाननिष्ठ ज्ञवाली एवं साहित्यकार बमबहादुर थापा जितालीको आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।
प्रमुख अतिथि लगायत सभाध्यक्षले संयुक्त रुपमा पानसमा द्वीप प्रज्वलन गरी औपचारिक रुपमा शुरू गरिएको उक्त कार्यक्रममा अतिथिहरूलाई रुद्राक्षको माला खादा लगायतले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा समालोचक तथा साहित्यकार तर्कना शर्माद्वारा स्वागत मन्तव्य राखिएको थियो ।
कार्यक्रममा औपन्यासिक कृतिबारे प्रकाश पार्दै प्रा. ज्ञाननिष्ठ ज्ञवालीले अक्षरको खेतीका क्रममा सृजनाको माध्यमबाट उचित शिल्पको प्रयोग गरेर अन्जना पौडेलले पाठकलाई जीवन, जगत र समाज बदल्नका लागि चेतनाको विकास हुनुपर्ने अनि मात्रै मानव तश्करका रुपमा रहेका सामाजिक रोगबाट उन्मुक्तिका लागि सफल हुने विचार वक्त गर्नुभयो ।
मन्तव्यका क्रममा अर्का वक्ता प्रा. डा. ज्ञानु पाण्डेले अन्जना पौडेलको उपन्यास स्थलगत रुपमा अध्ययन गरेर लेखिएको उपन्यास रहेकाले यसको कथानकको प्रमुख उद्देश्य समाज बदल्ने कर्म निरन्तर चलिरहनु पर्ने बताउँदै सामाजिक आर्थिक र बौद्धिक रुपमा विपन्न र सामाजिक महारोगका रुपमा व्याप्त रहेको चेलीबेटी बेचबिखनका विषयवस्तुलाई कथानकका रुपमा प्रस्तुत गरिएको उक्त उपन्यास नेपाली साहित्यिक क्षेत्रका लागि साथै खोजमूलक र तथ्यात्मक जानकारीका लागि उपयोगी हुने बताउनुभयो ।
विद्यावारिधिका क्रममा रहनुभएकी उपन्यासकार अन्जना पौडेलले चेतनास्तरको कमीका साथै आर्थिक र सामाजिक कमजोरीका कारण आफ्नाबाटै बम्बैमा बेचिएका हजारौँ दिदीबहिनीहरूको न्यायका लागि तीनको सामाजिक आर्थिक सम्मानका लागि ‘चरिमाइ’ लेखिएको बताउँदै स्वतन्त्र रुपमा जन्मिएका मानिस समाजले अनैतिक र कानुनले दण्डनीय मानेको गैरकानुनी क्षेत्रमा शरीरको व्यापार गरेर नारकीय जीवन बाँच्नु परेका ती हजारौँ नारीप्रतिको ज़िम्मेवारी र कर्तव्यका लागि ‘चरिमाइ’ लेखिएको बताउनुभयो । तर राजनैतिक पहुँच र आर्थिक सम्पन्नताका कारण अपराधबाट उम्किने समाजका अपराधी नै आफ्नो उपन्यासको केन्द्रबिन्दु रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा कथाकार तथा प्राज्ञ माया ठकुरीले औपन्यासिक कथानक समाजको लागि जघन्य अपराध हुँदाहुँदै पनि सामान्य रुपमा बुझिनु नहुने बताउँदै समाजमा पाप र धर्मको ख्याल नहुँदा यस्ता मानव तश्करी तथा बेचबिखनका विषयवस्तुलाई समेत सामान्य रुपमा व्यवहार गरिएको तर उपन्यासकार पौडेलले यस्ता सामाजिक विषयवस्तुमा कलम चलाएर सामाजिक उत्तरदायित्व निभाएकोमा उनको प्रशंसा गर्दै कीर्तिको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ बेन्जु शर्माले दैनिक रुपमा सुनिने पढिने हिंसा र बलात्कार तथा मानव बेचबिखनका विषयमा खोजमूलक र सशक्त रुपमा कलम चलाएर उपन्यासको रुपमा आउनु समाज सुसूचित हुने अवसर समेत हो भन्दै ‘चरिमाई’ उपन्यासले नेपाली पाठकहरूको मन तान्न मद्दत गर्ने विश्वास गर्दै कीर्ति सफलताको शुभकामना व्यक्त गर्नुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

