विष्णु भण्डारी

साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ ।

पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा मार्क्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का मार्क्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचकद्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ले शान्ति शान्ति र बुद्धको देश भन्दै आएकोमा वीरगाथा कालदेखि जनयुद्ध कालसम्म भएका युद्धहरूमाथि लेखिएको साहित्यलाई एकै ठाउँ राखेर अध्यययन गरेबाट नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित हुने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै सौन्दर्यचिन्तक निनु चापागाईंले नेपाली युद्धसाहित्यमाथि कमै लेखिएकोमा सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेकोले यस कृतिको महत्त्व बढी छ भन्नुभयो । साथै, उहाँले कृतिमा मार्क्सवाद र समाजवादी यथार्थवादमाथि कहीँकतै नबोलेको, नलेखेकोमा प्रश्न पनि उठाउनुभयो ।

कार्यक्रमका अर्का वक्ता डा. अमर गिरीले युद्ध सशस्त्र मात्र नभएर निशस्त्र पनि हुन्छ भन्दै साइबर युद्ध, जैविक युद्ध जस्ता युद्धलाई कृतिमा नसमेटिएको जनाउनुभयो । उहाँले समग्रमा यो कृतिले नेपाली युद्धसाहित्यको मोटामोटी चित्र प्रस्तुत भने गरेको उहाँको टिप्पणी थियो ।

कार्यक्रममा बोल्दै अर्का वक्ता डा. विन्दु शर्माले नेपाली समालोचकहरूले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई एउटै भनेकोमा कृतिले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई अलग गरेर विवेचना गरेको बताउनुभयो । साथै नेपाली साहित्यमा युद्धमाथि लेखिएको यस्तोखाले कृति नआएकोमा यसको महत्त्व बढी रहेको बताउनुभयो ।

कार्यक्रमका चारै जना वक्ताले कृतिको भूमिकामा रहेको नेपाली साहित्यको कालविभाजनमाथि बढी समय खर्चिएका थिए । लेखकले वि.सं. १९४० देखि २०१७ सम्मलाई जागरण काल भनेकोमा असहमति व्यक्त गर्नुभएको थियो ।

लेखक विष्णु भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकाले कृति तयार गरेको जनाउनुभयो । उहाँले कृतिमा एकीकृत राष्ट्रनिर्माणको क्रममा भएका युद्ध, नेपालको अखण्डता, सार्वभौमिकता तथा प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको साहित्यका साथै द्वन्द्वसाहित्यको पनि विवेचना गरिएको जनाउनुभयो ।

भुँडीपुराणका अध्यक्ष केशव प्रसाद पराजुलीले आमन्त्रित अतिथिलगायत सम्पूर्ण सहभागीलाई धन्यवाद दिँदै युद्धमाथि लेखिएको यो कृति असाध्यै महत्त्वपूर्ण भएको हुँदा यस कृतिलाई विश्वविद्यालयको पाठ्यक्रममा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पुस्तक ‘भुँडीपुरान प्रकाशन’ले बजारमा ल्याएको हो । ५ सय पृष्ठको कृतिको मूल्य ७ सय राखिएको छ ।