हालै न्युजिलान्डमा विमोचन गरिएको “स्पन्दनः शब्द सगरमाथा” माथि पुस्तक चर्चा कार्यक्रम सम्पन्न गरियो ।

नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले साहित्य पोस्टसँगको प्राविधिक समन्वयमा हालै प्रकाशित पहिलो संयुक्त साहित्यिक कृति “स्पन्दनः शब्द सगरमाथा” माथि पुस्तक चर्चा कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाली साहित्य समाजका अध्यक्ष डा. वीरेन्द्र केसीको संयोजनमा अनलाइनमा आयोजित उक्त कार्यक्रम वरिष्ठ साहित्यकार डा. घनश्याम परिश्रमीको प्रमुख आतिथ्य र डा. रेणुका सोलुको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, नेपाली साहित्य समाज न्युजिल्यान्ड का उपाध्यक्ष युवराज भण्डारी, संस्थापक अध्यक्ष पशुपति कर्माचार्य, गैर आवासीय नेपाली संघ न्युजिल्यान्ड का अध्यक्ष उद्धव अधिकारी लगायत अहिलेका चर्चित युवा साहित्यकारहरू राधिका कल्पित, शरद पोखरेल, बिन्दा पराजुली र दीप मिलनको सहभागिता रहेको थियो ।

कृतिमाथि चर्चा गर्दै प्रवासको व्यस्त समयमा पनि आफ्नो भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने पुनित उद्देश्यका साथ कृति प्रकाशित गरेकोमा प्रमुख अतिथि डा. परिश्रमीले नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डप्रति आभार व्यक्त गर्नु भयो ।

नेपाली साहित्य समाज न्युजिल्यान्डले विभिन्न समयमा अनलाइनमार्फत सञ्चालन गर्दै आएका रचनावाचन कार्यक्रममा सहभागी न्युजिल्यान्ड र नेपालका अतिरिक्त विश्वका विभिन्न भागमा बसोबास गर्दै आएका पुराना र नयाँ पुस्ताका नेपालीभाषी साहित्यकार तथा स्रष्टाका रचनालाई उत्तिकै महत्त्वका साथ कृतिमा स्थान दिएकोमा डा. परिश्रमीले सम्पादक मण्डलको प्रशंसा गर्नु भयो ।

त्यस्तै विशिष्ट अतिथि डा. रेणुका सोलुले नेपालीहरू संसारको जुनसुकै कुनामा गएर बसे पनि आफ्नो मातृभाषा प्रति उच्च माया र स्नेह राख्छन् भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको यो कृतिलाई लिन सकिने बताउनुभयो । बेलाबेलामा कार्यक्रमको आयोजना गरेर सुन्ने सुनाउने अवसर दिने मात्र नभएर वाचन गरेका रचनाहरूलाई कृतिको रुपमा प्रकाशित गर्ने कार्यको प्रशंसा गर्नु भयो । नयाँ र अग्रजका रचनालाई एकै ठाउमा राखेर नयाँ पुस्तालाई अग्रजका रचनाहरूबाट शिल्प सिक्दै आफूलाई परिस्कृत गर्दै जाने अवसर कृतिले प्रदान गरेको कुरा डा. सोलुले बताउनु भयो ।

साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डसँगको सहकार्य र यसबाट नेपाली भाषा र साहित्यमा पुर्याउँदै आएको योगदानको चर्चा गर्नुभयो ।

नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा. वीरेन्द्र केसी र गैरआवासीय नेपाली संघ न्युजिल्यान्डका अध्यक्ष उद्धव अधिकारीले कृतिको लागि रचना उपलब्ध गराउने सम्पूर्ण स्रष्टा तथा कृति प्रकाशनमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा योगदान पुर्याउने सबै शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहकार्यका साथ नेपाली भाषा र साहित्यको संवर्द्धन लागिरहने प्रण गर्नुभयो । कृति चर्चाको अलावा कार्यक्रममा उपस्थित सबै स्रटाहरूले रचनावाचन पनि गर्नु भएको थियो ।