भ्रष्टाचारका समाचारहरू छताछुल्ल भएको र सरकार पनि कारबाहीमा जुट्न थालेका बेला भरतपुरमा चित्रकार र साहित्यकार पनि सडकमा उत्रिएका छन् । चौबिसकोठीमा बिहीबार कविले कविता सुनाए भने चित्रकारले कार्टुन देखाए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरूको नाम मुछिनुका साथै पक्राउ पनि पर्न सुरु भएको हुँदा यो प्रकरणमा दोषीलाई कारबाही हुनुपर्ने सर्जकहरूको माग छ ।

कार्यक्रममा कवि राजेन्द्र ‘घायल’ले आफ्नो रचना सुनाउँदा तालीको गड्गडाहटसँगै समर्थन गर्नेहरू प्रशस्तै थिए । उमेरले पाका कवि गोविन्दराज विनोदीले ‘आगो निभ्नु हुँदैन’ भन्दै जोसिलो कविता सुनाउनुभयो ।

झन् अनीति बढ्यो, अत्याचारको शृङ्खला बढ्यो ।
भ्रष्टाचार बनी, तीखो शूल यो मुटुमा गढ्यो ।

विनोदीका कविताले यो शूल निकाल्ने सही बेला आएको र यो बेला शूल ननिकाले देश झनै मारमा पर्ने सन्देश दिएको थियो । चितवनका चित्रकार प्रकाश थापा ‘ट्रेलर’ र ‘फिलिम’ शीर्षकमा कोरेका ६ थान कार्टुन बोकेर कार्यक्रमस्थलमा पुग्नुभएको थियो ।

कार्यक्रममा ३३ जना स्रष्टाले रचनाहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संयोजक साहित्यकार भुपीन खड्का हुनुहुन्थ्यो ।