चितवनको नारायणगढमा फरक विचारको उत्सवको रूपमा ‘चित्तौन कचेहेरी’ हुँदैछ।

विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा नारायणगढको नारायणी कला मन्दिरमा कचेहेरी गर्न लागिएको हो।

यो कार्यक्रम मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्।

कचेहेरीमा चितवन र समग्र देशको समस्या र सम्भावनाहरू खोतल्ने गरी प्यानल छलफल तथा नाटक, साहित्य प्रस्तुत गरिने आयोजक समितिका संयोजक सरिता तिवारीले बताउनुभयो ।

कार्यक्रममा मान्छेका जीवन-मरणका विषयहरू उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने उनले बताइन्।

कचेहेरीको पहिलो दिन ७ वटा विषयमा प्यानल छलफल हुनेछ।

‘घर गाउँको सिंहदरबारः कति विकास, कति शासन?, कृषिमा उद्यमशीलताः कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसाः यथार्थ र भाष्य पानी र पर्यावरणः नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति’ विषयमा शुक्रबार प्यानल छलफल हुनेछ।

शुक्रबार सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा, नाटक तथा कविता वाचन प्रस्तुत गरिने तिवारीले बताउनुभयो ।

शनिबार ‘विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?, कसरी लेखिँदैछ चितवनको आख्यान?, मधेश र सत्ता, रैथाने भाषाको साहित्य, चितवनः हिजो, आज र भोलि’ शीर्षकमा प्यान छलफल हुनेछ।

‘स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम पनि शनिबार रहेको तिवारीले बताउनुभयो ।