सोल / दक्षिण कोरियामा रहेका लिम्बूहरूले हराउँदै गएको आफ्नो भाषालाई संरक्षण गर्नका लागि सिरिजंगा लिपि सिक्ने भएका छन् । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले मे २१ देखि हरेक आइतबार अनलाइनमार्फत कार्यक्रम गर्न लागेको हो ।
तीन महिनासम्म चल्ने भाषा प्रशिक्षणमा सिरिजिङ्गा लिपिको आधारभूत ज्ञान लिन सक्ने बताइएको छ । ‘हामीले यो प्रशिक्षण संसारभर बसेर लिम्बूहरूको सिरिजंगा लिपि सिक्न चाहने सबैलाई प्रशिक्षणको व्यवस्था गर्न लागेका हौं । यो हाम्रो भाषाको लिपिको संरक्षण गर्ने बलियो तरिका पनि हो,’ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्वा लिम्बूले भन्नुभयो ।
‘लिम्बू भाषा बोल्न सक्ने धेरै छन् । आफ्नो लिपिमा लेख्न सक्ने कम छन् । अहिले टेक्नोलोजीको जमानामा आफ्नो संस्कार संस्कृतिप्रति इच्छुकले जहाँ बसेर पनि सिक्न सक्ने अवस्था छ । यो प्रशिक्षण हाम्रो संस्कार, संस्कृति र भाषा सिक्ने अवसर पनि हो,’ उहाँको भनाइ छ । लिपिको प्रशिक्षण अल्पाइन विश्वविद्यालय सिक्किमका सिरिजंगा भाषाविद् प्रोफेसर कर्णहाङ ताम्लिङले गर्ने पनि आयोजक समूहले जानकारी दिएको छ ।
जुममार्फत प्रशिक्षण लिन सकिने उक्त कक्षा कोरियाको समयअनुसार हरेक आइतबार बेलुकी ८ बजेदेखि १० बजेसम्म (नेपाली समय ४:४५ देखि ६:४५ सम्म) हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 





