‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ६ पुस्तक । अधिकारीकाे ‘मन पग्लिएछ भने…’देखि स्याङ्तानको ‘ओ पेङ्दोर्जे !’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

० ० ०

१. ओ पेङ्दोर्जे ! — राजु स्याङ्तान

सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका कवि राजु स्याङ्तानको पहिलो कवितासङ्ग्रह हो — “ओ पेङ्दोर्जे” । यसमा ‘मजदुरको घोषणापत्र, आमा तिमी मात !, योद्धा, अन्तिम प्रेमपत्र, एक दिन, पिपाको कथा’ आदि ६ वटा खण्डमा ५१ वटा कविता अटाएका छन् । यथार्थवादी यस कवितामा विम्ब-प्रतिविम्बको सशक्त प्रयोग पाइन्छ ।

पुस्तकको बाहिरी पृष्ठमा मञ्जुश्री थापा लेख्छन्, “आफ्नो युगको मर्म अभिव्यक्त गर्र्न समय-समयमा असाधारण प्रतिभायुक्त कविको उदय हुन्छ । राजु स्याङ्तान त्यस्तै कवि हुन्, जसले समकालीन नेपालका अत्यधिक कष्टकर क्षणहरूको मर्मबोध गरेका छन् । उनका शब्दहरूमा बहुसङ्ख्यक उपेक्षित पददलितहरूको आवाज गुन्जिन्छ । यो सङ्ग्रह राजनीतिक भावनाद्वारा सज्जित काव्यको एक उम्दा नमुना हो । हाम्रो समस्त युगको नैतिक चेतनाको वाचाल अभिव्यक्ति हो यो ‘ओ पेङ्दोर्जे ! ’।”

१ सय ५१ पृष्ठमा फैलिएको पुस्तकलाई पब्लिकेसन नेपाञ्लयले बजारमा ल्याएको हो ।

२. कम्मरीदेखि कोभिड कहर — प्रा. डा. कृष्णप्रसाद पौडेल

“कम्मरीदेखि कोभिड कहर” प्रा. डा. कृष्णप्रसाद पौडेलकृत दोस्रो पुस्तक हो । ब्क्ज्ग्ःब् नेसनल अवार्डबाट सम्मानित पौडेलको हाडजोर्नी, नसा र स्वास्थ्यसम्बन्धी जानकारी पुस्तक हो । १ सय ७० पृष्ठमा फैलिएको यस पुस्तकमा ‘कम्मरी’, ‘जन्मजात हाडजोर्नीका विकृतिहरू’, ‘जोर्नी प्रत्यारोपण’, ‘कोभिड-१९ कहर र भावी चिन्ता’ लगायत अर्थोपेडिक विधामा केन्द्रित ३१ वटा शीर्षक समावेश छन् ।

“केही दिनपूर्व साहित्यकार तथा न.पा. – २ का वडा अध्यक्ष श्री तिलकराज पौडेलसँग म पनि नारायणगाढ रोटरी पुगेको थिएँ । डा. पौडेलले रोटरीमार्फट् जनप्रतिनिधिलाई मास्क उपलब्ध गराउने प्रबन्ध मिलाएका रहेछन् । त्यसै भेटमा डा. पौडेलले भने- दाइ, मेरो एउटा कृति प्रकाशित हुँदै छ, दाइले शुभकामना लेखिदिन पर्यो ।” शुभकामनामा रामबाबु घिमिरे लेख्छन्, “उनको आग्रहलाई मैले नाइनास्ती गर्ने सम्भावना नै थिएन । तर पछि थाहा पाएँ कि उनको प्रकाशोन्मुख कृति ‘कम्मरदेखि केभिड कहर’ त स्वास्थ्यसँग सम्बन्धित रहेछ । एउटा विशेषज्ञले लेखेको विषयपरक कृतिउपर के पो लेख्ने ? सोच्दै जाँदा मलाई लाग्यो, प्रकाशोन्मुख कृति त मसँग पनि प्रत्यक्ष सम्बन्धित रहेछ किनकि म हाडजोर्नी तथा नसा रोगबाट पीडित छु । एक प्रकारले भन्ने हो भने यो कृतिमा म आफू पनि विषयवस्तु रहेछु । अनि निधो गरेँ, पुस्तक प्राप्त भएपछि राम्ररी पढ्छु । एउटा विशेषज्ञबाट आफूले विशेषज्ञता प्राप्त गरेका रोगहरूको बारेमा लेखिएको प्रस्तुत कृति स्वास्थ्य सेवासँग सम्बन्धित तथा रोगबाट पीडत र स्वास्थ्यको विषयमा रुचि राख्ने पाठकहरूका लागि अति नै उपयोगी हुने विश्वास लिएको छु ।”

पुस्तकलाई साङ्ग्रिला पुस्तक प्रा. लि.ले प्रकाशनमा ल्याएको हो ।

३. अश्वात्थामाको निधारबाट बागमती बग्छ — देवव्रत

इन्डिगो इन्क पब्लिकेशन प्रा. लि. बाट प्रकाशित “अश्वत्थामाको निधारबाट बागमती बग्छ” देवव्रतको नवीनतम कवितासङ्ग्रह हो । १ सय ११ पृष्ठमा फैलिएको यस पुस्तकमा कोठा, के छ ?, आगमन, ऊ, तिमी गएपछि, सहर, नक्कली किसान, पृथ्वी, कर्णाली, आमा तिमी मूर्ख हौ, अश्वत्थामाको निधारबाट बागमती बच्छ लगायत ३८ कविता समावेश छन् ।

सङ्ग्रहित कविताहरूमा विम्बको चोटिलो र सशक्त प्रयोग पाइन्छ । सरल भाषालाई अपनाएर लेखकले समाजका विकृति र विसङ्गति बारेमा असन्तुष्टि पोख्नुको साथै जन्मदेखि मृत्युसम्मको जीवनदर्शनबाट सबल सन्देश व्यक्त गरेका छन् । लेखकका लामा-छोटा प्रेमिल तथा मार्मिक कवितारूले अवश्य पाठकको निधारबाट बाग्मती बगाउने छ ।

पुस्तकको बाहिरी पृष्ठमा लेखिएको छ ।

“न हृदय बहकाउने गीत
न मन बहलाउने संगीत
न कसैको पर्खाइ
न कतै पुग्ने चाहना
न प्रेम कसैसित

भाग्दैभाग्दै आफैँसित
यो कहाँ आइपुगेँ म !
यहीँ किन भेट भयो तिमीसँग ?”

पुस्तकको मूल्य २ सय ९९ रुपियाँ रहेको छ ।

४. मन पग्लिएछ भने…— आँचल कुसुम अधिकारी

प्रसादी एकेडेमीमा कक्षा १२ विज्ञान सङ्कायमा अध्यनरत किशोरी कवि आँचल कुसुम अधिकारीद्वारा लिखित कवितासङ्ग्रह हो — “मन पग्लिएछ भने…” । ७२ पृष्ठमा फैलिएको पुस्तकमा ‘मलाई काव्यसँग प्रेम बसेछ, युवा, रक्तदान, कविताले फुकाएको मौनता, कलम’लगायत ३१ वटा र शिखरिणी छन्दमा ‘हाम्रो संस्कृति’ समावेश छन् ।

मेरो भनाइमा कवि लेख्छिन्, “एनिमेसन गरिएका कार्टुनभन्दा एकएक शब्दमा हुने कौतूहलता पूर्ण कथामा मन जान्थ्यो । समाचार र देशबारे सुन्ने बुझ्ने वातावरण भयो । मामुले महिनाको एक खेलौना र एक मासिक पुस्तक ‘मुना’ ल्याइदिनुहुन्थ्यो । यी हात मुन पल्ट्याउन बढी उत्सुक हुन्थे । सबैभन्दा पहिला मुनाका कविता पढेर भ्याउँथे । हरेक कविता पढ्दा जिज्ञासा झन् झन् बढ्यो ।”

भूमिकामा डा. रामप्रसाद ज्ञवाली लेख्छन्, “समग्रमा किशोरी कवि आँचल अधिकारीका यी कविता उनीभित्रका उत्साह र आशावादी सोचका कविता हुन् । यिनले उज्यालो संसार र सुखी जीवनको खोजी गर्छन् । यिनको युवामन र जागृत चेतनाको प्रतिनिधित्व गर्छन् । यिनको जीवनबोध र समाज बोधलाई ध्वनित गर्छन् । यिनका सपना र चाहना प्रकट गर्छन् । नेपाल र नेपालीप्रतिको यिनको प्रेम र जिम्मेवारी बोध अभिव्यक्ति गर्छन् ।”

शुभकामनामा दीपक गौतम लेख्छन्, “आँचल कविता सरल छन्, बिम्बात्मक छन्, विविधतायुक्त विषयवस्तु समेटिएका छन् र समग्रमा उज्यालो सम्भावना बोकेका छन् ।”

आदित्य बुक्स एन्ड डिस्ट्रिव्युटर्सले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।

५. कुशल अभिभावक : सफल छाेराछाेरी _ दिनेश पाैडेल

एसओएस हर्मन माइनर विद्यालय इटहरीका सेवानिवृत्त शिक्षक दिनेश पाैडेलकृत पुस्तक हाे – “कुशल अभिभावक : सफल छाेराछाेरी” । १ सय ६० पृष्ठमा फैलिएकाे यस पुस्तकमा ‘अभिभावककाे केही भ्रम, कति खालका अभिभावक, अभिभावकीय इच्छा र भूमिका, असल-कुशल अभिभावक बन्ने ६ सरल सूत्र, सन्तानकाे जीवन बदल्ने ५ उपहार, विभिन्न संस्था र व्यक्तिका राय, विविध’ गरी सात खण्डमा उपशीर्षकहरू राखी बालमनाेविज्ञान तथा अभिभाकवत्वकाे प्रस्तुति पाइन्छ ।

प्रकाशकीयमा लेखिएकाे छ, “श्री पाैडेलले विश्वका अनेक देशका सरकारी शिक्षा विभाग, अभिभावक तालिम केन्द्रहरू, शिक्षाविद् र बालमनाेविद्हरूका अध्ययनसमेत समेटेर नेपालकाे परिवेशमा उपयुक्त हुने खालकाे अभिभावक शिक्षाकाे याे व्यावहारिक पुस्तक तयार पारेका छन् । आजका अभिभावक वर्गले गम्भीरतापूर्वक अध्ययन गरी आफ्नाे सन्तानसँगकाे सम्बन्धमा यहाँ सुझाइएका तरिका अवलम्बन गर्नुभयाे भने छाेराछाेरी पक्कै सक्षम, सुयाेग्य र दक्ष नागरिक बन्नेछन् भन्ने विश्वास छ । मलाई प्रकाशनकाे अवसर दिनुभएकाेमा लेखकलाई विशेष धन्यवाद छ ।”

दिनेश पाैडेल लेख्छन्, “बालबालिका अभिभावकलाई सन्तान ठिकसँग हुर्काउने सिकाउने सजिलाे र व्यावहारिक पुस्तक हाे याे । यसमा प्रामाणिक एवम् व्यावहारिक सिद्धान्त र उपायहरू सरल भाषामा उदाहरणसहित दिइएकाे छ । तपाईंका नानीबाबुहरू जुनसुकै स्वभाव, रुचि वा अवस्थाका हाेउन्, जुनसुकै उमेरका हाेउन्, याे पुस्तक पढ्नु उपयाेगी छ । तपाईं स्कुलकाे शिक्षक वा वैकल्पिक अभिभावक हुनुहुन्छ भने त झन् यस पुस्तकका हरेक पृष्ठकाे पठन बहुमूल्य मार्गदर्शन हुन सक्छ ।”

सीता खनाल पाैडेलद्वारा प्रकाशित पुस्तककाे मूल्य २ सय रुपियाँ रहेकाे छ ।

६ . १०८ poems _ डा. यामबहादुर रोका

न्यूरो कार्डियो तथा मल्टिस्पेसियालिटी हस्पिटल विराटनगरका वरिष्ठ न्यूरोसर्जन, समाजसेवी तथा कवि डा. याम बहादुर रोकाकाे कवतिा सङ्ग्रह हो –  “१०८ poems (volume ७)”.

यसमा ‘Another Blank Page, Part of An Album, The Wine Bottles, Farewell Happy Heart, Act of Providence, There Is Nothing on The moon, Promise’ लगायत १०८ कविता समावेश छन्  ।

पछिल्लो कभर पृष्ठमा सुमन पाेखरेल लेख्छन्, “Poet Yam Bahadur Roka is a fine blend of emotions with experiences of a Neurosurgeon and a common man. He creates poetry by melding the feelings together with his distinct tool of word crafting. His poetry is mostly motivated by a desire to reclaim the lost soul of humanity.

‘Change’

A day was too many to change,

A sentence too  many to changing,

A second enough to kill being changed,

This life remained too short for the change.

पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय ५९ पृष्ठमा रहेकाे छ । पुस्तककाे मूल्य ४ सय रुपियाँ रहेकाे छ ।

(१ सय ८ कविताहरू समावेश गरी कुल ८ वटा कविता सङ्ग्रह छन् । )