रत्ननगर / पूर्वी चितवनको रत्ननगरमा अन्तर मावि स्तरीय खुल्ला कविता वाचन प्रतियोगिता बुधबार सम्पन्न भयो ।

रत्ननगर नगरपालिका र रत्ननगर वाङ्मय परिषद्ले सयुक्त रुपमा आयोजना गरेको सो प्रतियोगिताका २१ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पञ्चकन्या मावि जिरौनाका विपासा सुनार प्रथम, नेपाल नमुना माविकी सर्वज्ञा पौडेल द्वितीय, बुद्धज्योति इङ्लिस बोडिङ स्कुलका अनुजिग्न कंडेल तृतीय र श्रीराम वैदिक गुरुकुलम् जयमंगलाका अविरल रिजालले प्रोत्साहन हासिल गरेको परिषद्का सदस्य तिलकराज शर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार र प्रोत्साहन हुनेलाई तीन हजार नगद पुरस्कारसहित सहभागीहरूलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर प्रह्लाद सापकोटाले साहित्य चेतनाको स्रोत रहेको भन्दै कला, संस्कृति, साहित्य र भाषा संरक्षणको लागि स्थानीय सरकारले योजना बनाएर काम गर्न सुरु गरिसकेको बताउनुभयो । धर्म, संस्कृति र साहित्यले विभेद गर्दैन उनले भने यसैको माध्यमबाट नगरमा मेलमिलाप स्थापित गराउन पर्छ । उपमेयर यादवप्रसाद पाठकले कला, संस्कृति, साहित्य र भाषाको अर्थपूर्ण संरक्षण हुनेगरी योजना पेश गर्न परिषद्लाई आग्रह गर्नुभयो ।

प्रतियोगिताको निर्णायकमा वरिष्ठ साहित्यकार केशवराज आमोदी, लक्ष्मण अर्याल र राजेन्द्र घायल रहनुभएको थियो । परिषद्का अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, परिषद्का सदस्य कमल अर्याल, साहित्यकार धनराज गिरी लगायतले मन्तव्य राख्नुभएको थियो ।

परिषद्का सदस्य तिलकराज शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रम विश्वनाथ खनालले सञ्चालन गर्नुभएको थियो ।