काठमाडौं / सर्जक तथा साहित्यक समालोचक ममता मृदुलाको ‘विविधा समालोचना संग्रह’ प्रकाशित भएको छ । २०८० सालमा नारी स्रष्टा समाज विराटनगरले प्रकाशनमा ल्याएको संग्रहमा साहित्यका विविध क्षेत्रमा ख्यातिप्राप्त ३५ जना सर्जकको कृतिको समीक्षा गरिएको छ ।

यो संग्रहमा पूर्वराजा ज्ञानेन्द्र शाह (जी शाह)देखि ग्याब्रियलेका लेखक करीस कल्पितसम्मका कृतिहरुको संक्षिप्त समालोचना गरिएको छ । कविता, मुक्तक, कथा, उपन्यास, निबन्ध, गीत लगायत साहित्यका विविध क्षेत्रमा आधारित भएर लेखिएका कृतिहरुको बारेमा चर्चा गरिएको समालोचना संग्रहमा कृति र सर्जकको नाम जोडेर शीर्षक राखिएको छ । जसमा तीर्थराज अधिकारी र जूनका टुक्रा, अस्तित्व र कलानिधि, दुईमुटु यौटा बाटो र जी शाह, नलेखिएको कथा र विश्वराज अधिकारी, न्यूरोडको झाँकी र तुलसीहरि कोइराला, निर्मला मुरारी र च्यातिएको फरिया, पदम विश्वकर्मा र क्वारेन्टाइन उपन्यास, रमेन्द्र कोइराला र फाटेको चप्पल रहेका छन् ।

त्यसैगरी मन्जिला अनिल र गोधुली संसार, हराएको सहर र मनीषकुमार, रञ्जु खनाल र मृततृष्ण, रामकुमार पण्डित र देशको चित्र, बरियो र रामु अधिकारी, खुला जेल र लक्ष्मी श्रेष्ठ, टिलो कथासंग्रह र शंकर खरेल, श्रीओम श्रेष्ठ रोदन र समकालीन नेपाली निबन्ध, सन्दिग्ध शताब्दी र श्रीबाबु कार्की, हरीस कल्पित र ग्याब्रियले, बौलाको डायरीभित्र महेश्वर पन्त रहेका छन् ।

त्यस्तै समालोचना संग्रहमा केहरसिंह गुरुङको कथा संग्रहका विकृतिका अग्ला पर्खालहरु, मामली दिदी कथासंग्रहभित्र बिन्द्र, मुमुक्षु र अर्पण योञ्जन शिरीष, राजेन्द्रप्रसाद अर्याल र आजको मान्छे, गोविन्द गिरी प्रेरणा र गन्तव्य गणबहाल, पुरुषोत्तम दाहाल र काला बादलका उज्याला पाइला, ओमकुमारी र रुपवासन्ती जस्ता कृतिहरुको चर्चा गरिएको छ ।

त्यसैगरी मीना श्रेष्ठ र फर्गेट स्टर्डे, गीता रेग्मी र प्रशान्तको तीरैतीर, चोभार ब्लुज र बिक्रम भक्त जोशी, मीनकुमार र समयको बयान, कर्णालीको कुनोदेखि मानसरोबरसम्म र विजयध्वज थापा, गोदान लघुकथा संग्रह र विनोद नेपाल, सुशील नेपाल र भग्नावशेषमाथि टोलाएको परेवा, हेमराज पहारी र हेमराज पहारीका गीतहहरुल शीर्षकका विषयहरु समालोचना संग्रहमा समेटिएका छन् ।

प्रायः सबै सर्जक र कृतिहरुको बारेमा महत्वपूर्ण र सारभूत विषयहरु समेटिएको र सर्जकहरुको संक्षिप्त साहित्यिक पृष्ठभूमिको समेत चर्चा गरिएकोले पुस्तक १५६ पृष्ठको भए पनि निकै खदिलो र गहकिलो रहेको छ ।

साहित्यमा रुचि राख्ने जो कोहीको लागि ३५ जना सर्जकहरुको ३५ कृतिमाथि समालोचनात्मक टिप्पणी गरिएको यो पुस्तक निकै उपयोगी, पठनीय, संग्रहनीय रहेको छ । यो एउटै पुस्तकबाट ३५ जना सर्जकहरुले साहित्यका विभिन्न विधामा लेखिएका कृतिहरुको सारभूत कुरा बुझ्न सकिन्छ र यो पुस्तकले साहित्यमा रुचि राख्ने हरेकलाई ती कृतिहरुभित्र प्रवेश गर्ने द्वारको काम गरेको छ । खोजी खोजी अध्ययन गर्ने भोक जगाउने काम गरेको छ ।