हेम सरिता पाठक फाउन्डेसनले एक लाख रकमको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” गर्ने जनाएको छ ।
उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०८० भदौ १५ गतेसम्म तोकिएको नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राधेश्याम लेकालीद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकामा बसोबास गर्दै आउनु भएका समाजसेवीहरू हेम पाठक र सरिता पाठकले सो रकमको व्यवस्था गर्नु भएको हो । यसअघि पनि एक लाख रकमको “भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता” घोषणा भइसकेको छ ।
फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरू प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल संचालन, विपन्न वर्गका लागि घर निर्माण र आयमूलक कार्यक्रमका लागि रकम अनुदान तथा अमेरिकामा गरीब नेपाली विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।
गीतको विषय सन्दर्भ भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्ने, आफ्नो गीत इमेल मार्फत पठाउनुपर्ने, गीत रेकर्ड गरेको हुनुपर्ने, कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग नगरिएको हुनुपर्ने नत्र स्वतः अस्वीकृत हुने बताइएको छ ।
यसैगरी एकजना गीतकारले एउटा मात्र गीत पठाउन सक्ने तथा एकभन्दा बढी आएमा स्वतः बदर हुने जनाइएको छ । गीत नितान्त नयाँ र मौलिक हुनुपर्ने, गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्ने बताइएको छ ।
प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनुका साथै प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने बताइएको छ ।
गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० भदौ १५ गतेसम्म रहेको छ भने पुरस्कृत गीतलाई नगद एक लाख रकम (प्रमाणपत्रसहित) दिइने बताइएको छ ।
थप जानकारीका लागि Email : hemsaritapathak@gmail.com
Phone No : 9851059354 मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।