
डेब्यु गैरआख्यान कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’का लागि उत्कृष्ट ५ गैरआख्यान विधाका कृतिहरूको सूचीमा डा. शिवराज भट्टराईको संस्मरण सङ्ग्रह ‘राँको बालेर यात्रामा’ पर्न सफल भएको छ ।
भुटानवासी नेपाली स्रष्टा डा. शिवराज भट्टराईको पहिलो पुस्तकको आत्मजीवनीपरक संस्मरण सङ्ग्रह ‘राँको बालेर यात्रामा’ । रोयल थिम्फु कलेजका डीन समेत रहेका डा. भट्टराईले बायो–साइन्समा एमएस्सी र ‘लिम्नोलोजी’ (फ्रेशवाटर इकोलोजी) मा विद्यावारिधि गरेका छन् । डा. भट्टराईले पुस्तकलाई दुई खण्डमा प्रस्तुत गरेका छन् । पहिलो खण्डमा बाल्यकालका सम्झनादेखि अध्ययन, बिहे तथा शिक्षणकर्मका तीता–मिठा संस्मरणहरु छन् । त्यस्तै, दोस्रो खण्डमा ५ शीर्षकमा संस्मरणात्मक निबन्धहरु सङ्ग्रहित छन् ।
जम्मा १९ शीर्षकका संस्मरणहरु सङ्ग्रहित कृतिलाई मञ्जरी पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।
छानिएका अन्य डेब्यु गैरआख्यान कृतिहरूमा डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’, लालबहादुर कार्कीको संस्मरण ‘कर्मरेखा’, राम विन्दु श्रेष्ठको संस्मरण ‘मेरा सोभियत सम्झनाहरू’ र नीलकमलको ‘सुरसङ्गीतका केही साधक’ रहेका छन् ।
यो सूची पहिलोपटक पुस्तक लेखी नेपाली साहित्यमा औपचारिक पाइला चालेका नयाँ लेखकका २०७९ सालमा प्रकाशन भएका ९ गैरआख्यानका पुस्तकहरूबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।
यो पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ ।
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यावसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को अन्तिम सूचीमा ‘राँको बालेर यात्रामा’

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को अन्तिम सूचीमा ‘मेरा सोभियत सम्झनाहरू’
