टीकापुर, कैलाली / टीकापुर सरोकार समूह र टीकापुर सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा प्रतेक महिना टीकापुर सामुदायिक पुस्तकालयमा आई अध्ययन गर्ने पाठकमध्ये उत्कृष्ट पाठकलाई दिइँदै गरेको पुरस्कार चैत्र २०७९ का लागि प्रगति शर्मालाई प्रदान गरिएको छ ।

उक्त पुरस्कारको राशि रु. दश हजारको रहेको छ । गत मंसिर महिनादेखि प्रत्येक महिना दिइँदै आएको पुरस्कारको यो पाचौँ श्रृङ्खला हो ।

चैत महिनाका नियमित १५० पाठकमध्ये पुरस्कार विजेता प्रगति शर्माले १३७ घन्टा पुस्तकालयमा अध्ययन गर्नुभएको थियो ।

टीकापुर सामुदायिक पुस्तकालयले पुरस्कार वितरणका लागि आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि पूर्वमन्त्री चन्द्रसिंह भट्टराई, ब्रहमकुमारी सीता दिदी र मन थापाले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र विजेता शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

चैत महिनाको पुरस्कार साहित्यकार गगनसिंह थापाको स्मृतिमा उहाँका परिवारले प्रायोजन गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि भट्टराईले टीकापुरमा अध्ययन संस्कृतिलाई प्रोत्साहन गर्न आयोजना भइरहेको यो पुरस्कारको कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।