डेब्यु आख्यान कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’का लागि उत्कृष्ट १२ आख्यान विधाका कृतिहरूको सूचीमा हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ पर्न सफल भएकाे छ ।

आर्थिक विकास तथा अर्थ–राजनीतिक क्षेत्रको अध्ययन तथा अनुसन्धानमा सक्रिय हरिबोल काफ्ले पहिलो उपन्यास हो, ‘यशोधरा’ । उपन्यासले गौतम बुद्धकी पत्नी, ऐतिहासिक पात्र यशोधरा जीवन चरित्र उजागर गर्दै उनकै दृष्टिबाट तत्कालीन समयको कथा कहेको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्राका क्रममा यशोधराले गर्नुपरेको त्याग–तपस्या उपन्यासको कथानकको केन्द्रमा छ । उपन्यासमा तत्कालीन समाज, समाजिक प्रचलन र विविधता आदिलाई सचित्र उतारिएको छ ।

२ सय ८६ पृष्ठमा बुनिएको उपन्यासलाई लिपि बुक्सले प्रकाशनमा ल्याएको हो ।

छानिएका  अन्य डेब्यु आख्यान कृतिहरूमा मनिषा आचार्यको उपन्यास ‘छोरी’, नितिन मिश्रको उपन्यास ‘म र ‘म’’, विक्रमभक्त जोशी निकथा सङ्ग्रहको ‘चोभार ब्लुज’, विष्णु ढकालको उपन्यास ‘जौवा’, खगेन्द्र भट्टराईको कथासङ्ग्रह ‘अँध्यारो कुनो’, स्मारिका सुवेदीको कथासङ्ग्रह ‘देवांशी’, दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’, सुबोध पौडेलको उपन्यास ‘चुड्की’, अमृता पाठक चौलागाईंको ‘चैतु काका’, दोस्ती रेग्मीको ‘पारमित’ र कर्ण शाहीको ‘त्यागी जीवन’ रहेका छन् ।

यो सूची पहिलोपटक पुस्तक लेखी नेपाली साहित्यमा औपचारिक पाइला चालेका नयाँ लेखकका २०७९ सालमा प्रकाशन भएका ४४  आख्यानका पुस्तकहरूबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।

यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल  कृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ प्रदान गरिने छ ।