डेब्यु आख्यान कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’का लागि उत्कृष्ट १२ आख्यान विधाका कृतिहरूको सूचीमा दाेस्ती रेग्मीकाे उपन्यास ‘पारमिता’ पर्न सफल भएकाे छ ।
लेखक दोस्ती रेग्मीको पहिलो पुस्तक हो उपन्यास ‘पारमिता’ । उपन्यासको कथानक प्रेम, दुर्व्यवसनी र अध्यात्मको संयोजनमा बुनिएको छ । सरल भाषा, सरस शैली र बिम्बहरुको सार्थक प्रयोगले उपन्यास पठनीय बनेको छ ।
‘उपन्यासमा दुव्र्यसनी र मायाको युद्धमा दुर्व्यवसनीको जित हुन्छ तर दुर्व्यवसनी र अध्यात्मको युद्धमा अध्यात्मको जित हुन्छ ।’, उपन्यासको अन्तिम पृष्ठमा अमर न्यौपानेले लेखेका छन् ।
छानिएका अन्य डेब्यु आख्यान कृतिहरूमा मनिषा आचार्यको उपन्यास ‘छोरी’, नितिन मिश्रको उपन्यास ‘म र ‘म’’, विक्रमभक्त जोशी निकथा सङ्ग्रहको ‘चोभार ब्लुज’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’, विष्णु ढकालको उपन्यास ‘जौवा’, खगेन्द्र भट्टराईको कथासङ्ग्रह ‘अँध्यारो कुनो’, स्मारिका सुवेदीको कथासङ्ग्रह ‘देवांशी’, दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’, सुबोध पौडेलको उपन्यास ‘चुड्की’, अमृता पाठक चौलागाईंको ‘चैतु काका’ र कर्ण शाहीको ‘त्यागी जीवन’ रहेका छन् ।
यो सूची पहिलोपटक पुस्तक लेखी नेपाली साहित्यमा औपचारिक पाइला चालेका नयाँ लेखकका २०७९ सालमा प्रकाशन भएका ४४ आख्यानका पुस्तकहरूबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।
यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ प्रदान गरिने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।