वनिता साहित्यिक पत्रिका साहित्यका विभिन्न विधाका १८ स्रष्टालाई सम्मान गर्ने भएको छ। पत्रिकाले एक विज्ञप्ति जारी गर्दै साहित्य, सङ्गीत, रङ्गमञ्च र संचारका क्षेत्रमा सक्रिय स्रष्टालाई सम्मान एवं पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

पत्रिकाले २०८० र २०८१ सालका पुरस्कारको घोषणा गरेको हो । पत्रिकाले ‘वनिताश्री रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल अभिनन्दन’ प्राडा अभि सुवेदीलाई प्रदान गर्ने भएको छ ।

पत्रिकाले’देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार-२०८०’ बालसाहित्यकार शाश्वत पराजुलीलाई र २०८१ सालको उक्त पुरस्कार बालसाहित्यकार छायादत्त नेउपानेलाई प्रदान गरिने भएको छ ।

यस्तै ‘वनिताश्री डानरेन्द्र चापागाईं समालोचक शिरोवर्ती पुरस्कार-२०८०’ समालोचक सावित्री कक्षपतीलाई र २०८१ सालको उक्त पुरस्कार समालोचक फणेन्द्रराज निरौलालाई प्रदान गरिने भएको छ ।

यस्तै ‘वनिताश्री देवकुमारी थापा कथा विशिष्ट पुरस्कार-२०८०’ कथाकार किशोर पहाडीलाई र २०८१ सालको उक्त पुरस्कार कथाकार सुष्मिता नेपाललाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसै गरी ‘व्यथित काव्य वनिताश्री सपुरस्कार-२०८०’ कवि नरेद्रबहादुर श्रेष्ठलाई र २०८१ सालको उक्त पुरस्कार कवि ठाकुर बेलवासेलाई प्रदान गरिने भएको छ ।

यस्तै ‘रन्जुश्री दामोदर यात्रा वनिता पुरस्कार-२०८०’ नियात्राकार युवराज नयाँघरेलाई र २०८१ सालको उक्त पुरस्कार नियात्राकार प्रतीक ढकाललाई प्रदान गरिने भएको छ । यस्तै ‘वनिताश्री उन्नती बोहरा शीला गीतसंगीत पुरस्कार ०८० – २०८१’ सालको पुरस्कार संगीतकार तथा गायक राज सिग्देल र गायिका राधिका भण्डारीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

यसै गरी वनिता विशेष वसुश्री–मधु पुरस्कार-२०८० संगीतकार ‌ मन्जु नकर्मी र २०८१ सालको उक्त पुरस्कार बालसाहित्यकार रश्मी रिमाललाई प्रदान गरिने भएको छ । यस्तै ‘वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार- २०८०’ साहित्यकार हरि बराल २०८१ सालको उक्त पुरस्कार अनुवादक राजेन्द्र गुरागाईलाई प्रदान गरिने भएको छ ।

यस्तै ‘वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार ह्याप्पी किड्स’ मन्टेश्वरीका स्कुलका साना नानीहरूलाई प्रदान गरिने भएको छ । यी पुरस्कारहरू उपयुक्त समय पारेर एक समारोहका बीच प्रदान गरिने वनिता पत्रिकाकी प्रकाशक एवं सम्पादक साहित्यकार लक्ष्मी उप्रेतीले विज्ञप्तिमार्फत जनाउनु भएको छ ।