काठमाडौं / माइक्रो कम्प्युटर क्रान्तिका प्रणेता स्टिभ पाउल जब्सको संक्षिप्त बालजीवनीलाई कथालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ । नेपालीमा ‘भोको रहू, मूर्ख रहू’ शीर्षक राखेर विमलकुमार सुवेदीले अनुवाद गरेका हुन् । भिक्टर प्रधान सम्पादक रहेको पुस्तकमा थोमस शाहिन्यानका चित्र समावेश गरिएको छ ।

अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो । जसको अंग्रेजी शीर्षक “Stay Hungry Stay Foolish” छ । यसका मूल लेखक न्यून टोरोस्यान हुन् ।

‘भोको रहू, मूर्ख रहू’ भन्ने पदावली स्टिभ जब्सले प्रयोग गरेको उत्साहवद्र्धक नारा हो । भोको मानिस जसरी भोक मेटाउन निकै खटेर काम गर्छ र मूर्ख जसरी असफल भए पनि बारम्बार कोसिस गरिरहन्छ, त्यसरी नै मानिसहरू नयाँ प्राप्तिका लागि मरिमेटेर प्रयत्नशील रहून् भन्ने सन्देश जब्सले प्रवाह गरेका छन् । उनी युवा वर्गलाई आफ्नो अन्तरमनले चाहेको कुरा हासिल गर्न लगनशील भएर प्रयत्न जारी राख्नुपर्छ भन्छन् ।

‘एप्पल’ कम्पनीका सहसंस्थापन जब्स आइफोनका जन्मदाता हुन् । अहिलेको प्रविधिको युगमा उनी महत्वपूर्ण आविष्कारक मानिन्छन् । उनको जन्म र हुर्काइ भने सामान्य अवस्थामा भएन । अविवाहित युवतीबाट जन्मिएका जब्सलाई अरू नै धर्ममाता/पिताले स्विकारेर हुर्काएका हुन् ।

१० वर्षमै इलेक्ट्रोनिक्समा उनको रुचि बसिसकेको थियो । पछि कलेजमा पढाइप्रति उनको मन गएन । त्यसपछि उनले कस्ता हन्डर खाए, त्यसले उनलाई कतातिर डो-यायो ? पुस्तकले सविस्तार वर्णन गरेको छ । धर्मपुत्रका रूपमा हुर्किंदाको पीडा, आफूले बनाएका योजना अफसल हुँदाको निराशा, कलेज जीवनका हन्डर अनि आफ्नै कम्पनीबाट बहिर्गमन हुनुपर्दाका कठिन दिन कस्ता थिए ? उनको संक्षिप्त जीवनीले प्रकाश पारेको छ ।

यो पुस्तक ६ वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, छलफल गर्न तथा ९ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न सक्नेछन् । दुवै भाषामा २८ पृष्ठ रहेको पुस्तकको मूल्य २ सय ८० रुपैयाँ राखिएको छ ।