कथाकार सूर्यप्रसाद लाकोजूको नवीनतम् कथासङ्ग्रह ‘सत्याग्रह’माथि भक्तपुरमा विमर्श गरियो ।
सिर्जना अभियान समाजको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि एवं कथाकार बाबा न्यौपानेले सूर्य लाकोजूलाई आफूले साहित्य साधकका रुपमा चिनेको बताउँदै उहाँका कथाहरू सामाजिक समस्यालाई प्रभावकारी रुपमा प्रस्तुत गर्न सफल छन् भन्नुभयो । साथै प्रमुख अतिथि न्यौपानेले साहित्यिक कृतिका पाठकहरू गम्भीर नभएको र पठन संस्कृति दयनीय हुँदै गइरहेको प्रति चिन्ता पनि प्रकट गर्नुभयो ।
कार्यक्रममा पुस्तकमाथि विमर्श गर्दै कथाकार ध्रुव मधिकर्मीले संस्कृति र काव्य क्षेत्रमा स्थापित स्रष्टा एवं अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकोजूले कथामा आफ्नो क्षमताको प्रदर्शन गरेको बताउनुभयो । साथै उहाँले राजनीतिप्रति समाजको दृष्टिकोण र राजनीतिमा इमान्दारिता उपेक्षित बनेको, वैदेशिक रोजागरीमा जानेहरूप्रति राज्यले चासो नदिंदा नेपालीहरूले दुःख पाएको, विकासको नाममा आम मानिसले भोग्नु परेको समस्या लगायतका विषयलाई कथाकार लाकोजूले प्रभावकारी रुपमा उठाएका छन् भन्नुभयो ।
कथाकार लाकोजूले कतिपय विषयलाई कवितामा व्यक्त गर्न नसकिने भएकाले कथाको रुपमा प्रस्तुत गरेको बताउनुभयो ।
समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा स्रष्टाहरु सुवासचन्द्र ढुङ्गेल, रत्न कोजू, विमल भौकाजी, त्रिरत्न शाक्य, त्रिविक्रम पाण्डे, धु्रवकृष्ण ताम्राकार, राममणि ढुंगेल, निर्मला बराल, इन्दिरा चापागाइँ, हरिगोविन्द भोमी, श्याम आशा, सुरेन्द्रलाल भुजू , धु्रवनारायण जोन्छें, सानुराजा अन्जान, विनोद ढुंगेल, दिलकुमारी डंगोल, राजेशमान केसी, जितेन्द्र रसिक, राजेन्द्र चित्रकार लगायत विविध विधाका स्रष्टाहरुको उपस्थिति थियो ।
ट्रान्स–वर्ल्ड पब्लिकेसनबाट प्रकाशित सत्याग्रहमा विविध विषयमाथि लेखिएका एघार वटा समसामयिक कथा छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।