कविता यात्राको १९३औँ शृङ्खलामा कविहरूलाई आमन्त्रण गरी ज्योति साहित्य प्रतिष्ठानले बुद्ध जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न गर्यो। ललितपुरको ग्वार्कोस्थित सेराजेम थेरापी सेण्टरको प्रायोजनमा विभिन्न कविहरूको उपस्थितिमा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा उक्त आयोजना सम्पन्न गरियो ।

प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकार र विशिष्ट अतिथि गजल माली ज्ञानुवाकर पौडेलका साथमा विशिष्ट कविहरू नारायण तिवारी, महेशराज खरेल, विजय हितान, त्रिपूरा पौडेलले आआफ्ना सिर्जना वाचन गरी थेरापीको माध्यमद्वारा स्वास्थ्य लाभ गर्न आएका युवादेखि बुढाबुढीसम्मलाई मख्ख पार्नु भयो।

सोही अवसरमा ब्रिटेनबाट आएका साहित्यकार विजय हितानले ज्योति साहित्य प्रतिष्ठानलाई आफ्नो कथासङ्ग्रह “ब्लु प्लानेट” प्रदान गर्नुभयो ।

अतिथि कविहरू राजेश्वरी काफ्ले (लालबन्दी), असिम सागर, लक्ष्मी दास मुस्कान, बिमुन्स पौडेल, जुमन किरण, विनोद खत्री आकाश, द्वारिका कुइँकेल, सुधा मिश्र, सुष्मिता श्रेष्ठ, प्रषिशा उपाध्याय बरालले गीत, गजल, मुक्तकका साथै कविता वाचन गरी उपस्थित सबैलाई स्वास्थ्य लाभ प्राप्त गर्न सहयोग गरे।

सेराजेम थेरापी सेन्टरमा सोही अवसरमा साहित्यकारहरू विजय हितान, असिम सागर, द्वारिका कुइँकेल, पौडेल बिमुन्स र मणिराज सिंहले १५ देखि ३० मिनेट उक्त सेन्टरमा थेरापी गरी स्वास्थ्य लाभ पनि प्राप्त गर्नुभयो ।