सामाजिक सञ्जालमा सक्रिय सिनेप्रेमीहरूको समूह ‘मुभी लभर्स ग्रुप’ले बहुप्रतीक्षित चलचित्र ‘हल्कारा’को विशेष प्रदर्शन गर्ने भएको छ । विक्रम सापकोटाद्वारा निर्देशित र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत ‘हल्कारा’ यही वैशाख २४ गते आइतबार साँझ ५ बजे प्रदर्शन गरिने ग्रुपले बताएको छ ।

कोभिडका कारण प्रदर्शन मिति पछि सरेको ‘हल्कारा’ वैशाख २९ गते देशभर प्रदर्शन हुँदै छ । ट्रेलर र टिजरबाट राम्रो प्रतिक्रिया पाएको ‘हल्कारा’मा महेश त्रिपाठी, विनीता थापा मगर, प्रकाश दाहाललगायतको अभिनय छ । चिन्तनराज भण्डारीको छायांकनले प्रशंसा बटुलेको छ । यो चलचित्रबाट ‘वर्ल्डफेस्ट ह्युस्टन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा महेश त्रिपाठीले सर्वोत्कृष्ट अभिनेता र चिन्तनराज भण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका थिए । फिल्मले ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट न्यारेटिभको अवार्ड जितेको थियो ।

‘हल्कारा’ एउटा हुलाकीको कथा हो । द्वन्द्वकालीन समयको कथा बोकेको चलचित्र प्रदर्शनपछि निर्माण टिमसँग छलफल पनि गरिने ‘मुभी लभर्स’ले जनाएको छ ।

यही प्रदर्शनदेखि ‘मुभी लभर्स’ले सुन्धाराको सीडीसी सिनेमालाई केन्द्र बनाउने पनि बताएको छ । ‘मुभी लभर्स’का प्रदर्शनी, कार्यक्रम र कार्यशालाहरू त्यहीँ हुनेछन् । यसमा सीडीसी हलले सघाउनेछ । चलचित्रको टिकट https://movieloversnp.com/product/halkara-movie-lovers-screening बाट लिन सकिनेछ ।

फिल्मका निर्माता रामकृष्ण पोख्रेल र विक्रम सापकोटा हुन् । फिल्मको लेखन र निर्देशन विक्रम सापकोटाले गरेका हुन् । फिल्ममा महेश त्रिपाठी, विनिता थापा मगर, उमेश तामाङ, पशुपती राइ आदि कलाकारहरु छन् । फिल्म वैसाख २९ गते देशैभरका सिनेमा हलहरुमा प्रदर्शन हुँदै छ ।