
गत शनिबार, बैशाख १६ का दिन नेपाली साहित्य समाज र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले संयुक्त रुपमा प्रकाशन गरेको पहिलो साहित्यिक कृति “स्पन्दनः शब्द सगरमाथा” सार्वजनिक गरिएको छ ।
नेपाली साहित्य समाजका वरिष्ठ सल्लाहकार श्रीधर बस्न्यातको संयोजनमा न्युजिल्यान्डको अकल्यान्डमा आयोजित एक साहित्यिक कार्यक्रमका बिच उक्त कृति विमोचन गरिएको थियो ।
गैर आवासीय नेपाली संघ न्युजिल्यान्डका अध्यक्ष उद्धव अधिकारी, नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा. वीरेन्द्र केसी, ती दुई संस्थाका संस्थापक अध्यक्षहरू क्रमशः पशुपति कर्माचार्य र बाबुराजा महर्जन, नेपाली साहित्य समाज न्युजिल्यान्डका आजीवन सदस्यहरू प्रा. पीताम्बर शर्मा दाहाल, श्रीधर बस्न्यात, डा. भोला प्रधान, कमल श्रेष्ठ र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डका महासचिव विकास पोख्रेलले संयुक्त रुपमा कृति विमोचन गर्नु भएको थियो ।
यस कृतिभित्र नेपाली साहित्य समाज न्युजिल्यान्डले विभिन्न समयमा अनलाइनमार्फत सञ्चालन गर्दै आएका रचनावाचन कार्यक्रममा सहभागी साहित्यकार तथा स्रष्टाहरूका रचना समावेश गरिएको छ । समाजमा विद्यमान विसङ्गति र विकृतिहरूका विरुद्ध तथा आफन्त र आफ्नो देशप्रेमप्रति मनभित्र उब्जेका तरङ्गहरूलाई स्रष्टा तथा साहित्यकारहरूले कलात्मक ढंगले शब्दमा उनेका छन् । साहित्यले समाजमा सुवास, सुन्दरता र सजीवता थप्छ भन्ने मान्यता राखेर लेखिएका यी सिर्जनाहरूमार्फत समाजमा प्रकाश छर्ने प्रयत्न गरिएको छ ।
प्रा. पिताम्बर शर्मा दाहाल र पशुपति कार्माचार्यले संयुक्त रुपमा उद्घाटन गर्नु भएको सो विमोचन कार्यक्रममा न्युजिल्यान्ड नेपाल सोसाइटीका अध्यक्ष डा. सन्तोष भण्डारी, न्युजिल्यान्ड नेप्लिज एशोसिएसनका सचिव डा. श्रु्ति सिंह र अवैतनिक वाणिज्यदूत दिनेश खड्काले शुभकामना मन्तव्य दिनुभएको थियो ।

नमिता दवाडी
समाजका उपाध्यक्ष नमिता दवाडी र पदाधिकारीहरू टीका रेग्मी र गोपाल पौडेलले संचालन गर्नु भएको सो कार्यक्रममा अकल्यान्ड लगायत न्युजिल्यान्डका विभिन्न ठाउँहरू वैलिङ्गटन, क्राइस्टचर्च, पालमर्थटन नर्थ, टौरङ्गाबाट आउनुभएका सत्तरी जना जति नेपाली भाषा र साहित्यप्रेमीहरूको उपस्थित थियो । कार्यक्रममा प्रा. पीताम्बर शर्मा दाहाल, पशुपति कार्माचार्य, डा. भोला प्रधान, श्रीधर बस्न्यात, बाबुराजा महर्जन, युवराज भण्डारी, नमिता दवाडी, विकास पोख्रेल, विनोद भौकाजी, विनोद आचार्य, डा. प्रकाश जोशी, टीका रेग्मी, गोपाल पौडेल र देवी शर्माले रचना वाचन गर्नु भएको थियो ।
बिचबिचमा नेपाली पोसाकमा सजिएका कलाकारहरूद्वारा प्रस्तुत नृत्यहरूले कार्यक्रमलाई थप आकर्षक वनाएको थियो ।
कार्यक्रमका सभाअध्यक्ष डा. वीरेन्द्र केसीले कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

न्युजिल्यान्डमा नेपाली साहित्य समाजका आजीवन सदस्यहरू सम्मानित
