काठमाडौं, बैशाख १६ / पछिल्लो समयका सशक्त कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ शनिबार सार्वजनिक भएको छ ।

आफूसँग कुनै समय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रवीणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले यो पुस्तक सार्वजनिक  गरेका थिए । द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रवीणाले हात गुमाएकी थिइन् ।

पब्लिकेशन नेपालयको आर शालामा पुस्तक विमोचन गर्नुअघि वक्ताहरूले कुनै समय हतियार बोकेर समाज रुपान्तरणमा लागेका राजुले पछिल्लो समय बोकेको कलमको हतियार अत्यधिक धारिलो भएको टिप्पणी गर्नुभयो ।

‘एउटा समुदायबाट उठेको मानिस उसको वरपरको विभिन्न थिचोमिचो, सहयोग र असहयोगको बीचबाट हुर्कँदा हुर्कँदै बजार र विश्वव्यापीकरणसँग जुध्न पुग्छ,’ पुस्तकमा अटाएको कविताबारे टिप्पणीगर्दै समीक्षक हरि शर्माले भन्नुभयो, ‘परिणाममा बजार, समाज र पूँजीवादको बन्दी भएका कविको वेदना र पीडा यसमा सशक्त ढंगले प्रतिविम्वित भएको छ ।’

एकठाउँ कविले अफगानिस्तानको राजधानीको सन्दर्भ उल्लेख गर्दै शर्माले कुनै कविको कल्पनाशीलता यस रुपमा पाउँदा आश्चर्यसमेत प्रकट गर्नुभयो । यसरी विम्ब र प्रतिविम्ब प्रयोग गर्दै कल्पनाहरूलाई सशक्त ढंगले उभ्याउने राजुलाई आफूले समग्रमा भने यथार्थवादी कविका रुपमा पाएको शर्माले बताउनुभयो ।

कार्यक्रममा नयाँ पुस्ताका कवि राजुका बारेमा अघिल्ला पुस्ताका कवि श्रवण मुकारुङले चिनारी प्रस्तुत गर्नुभएको थियो ।

‘मैले नछुटाइकन पढ्ने अहिलेका कविहरूमाझ राजुको कविता पढ्ने गरेको छु,’ कार्यक्रममा बोल्दै मुकारुङले भन्नुभयो, ‘राजु उनको परिवेशलाई आम पाठकको मर्ममा छोएर प्रस्तुत गर्न प्रखर देखिएका छन् ।’

त्यस अवसरमा राजुले पुस्तकमा अटाएका दुइवटा कविता वाचन गरेर सुनाउनुभएको थियो ।

शनिबारकै समारोहमा भौतिक पुस्तक मात्र नभइ यसका ‘इबुक’ र ‘अडियो बुक’ पनि सार्वजनिक भएको घोषणा गरिएको थियो । पछिल्लो समय प्रचलनमा आएको पुस्तकका यी नवीन स्वरुपहरू भने इन्टरनेटमा थुप्रै डट कमको एप्स मार्फत् कसरी सजिलै खरिद गर्न सकिन्छ भनेर जानकारी पनि गराइएको थियो । यस पुस्तकको ‘अडियो बुक’ खरिद गर्नेले राजुको स्वरमा वाचन गरिएको कविताको साथमा संगीतकार आभासले तयार पारेर मिसाएको धुनको आनन्द पनि लिनसक्ने छन् ।

यस कविता संग्रहमा छ वटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन् ।

कार्यक्रममा पब्लिकेशन नेपालयका तर्फबाट बोल्दै किरणकृष्ण श्रेष्ठले लेखक तथा प्रकाशकहरूले जति छिटो पुस्तकहरू धेरै माध्यममा उपलब्ध गराउछन्, त्यति नै पाठकको दायरा फराकिलो हुने बताउनुभयो ।

‘यतिबेला साहित्यिक पुस्तकमध्ये सबैभन्दा थोरै कविता बिक्री भइरहेको यथार्थकै बीच हामीले यसै विधाको पुस्तक प्रस्तुत गर्ने जमर्को गरेका छौं,’ किरणले भन्नुभयो, ‘कुनै समय पुस्तकको बिक्री बढेर फेरि कमी आउन थालेकामा हामी प्रकाशकहरूले कस्ता पुस्तक पाठकलाई दियौं भनेर पनि यतिबेलै आत्मसमीक्षा गर्नु जरुरी छ ।’

कार्यक्रममा पब्लिकेशन नेपालयकी तत्कालीन सम्पादक भूषिता वशिष्ठले यो पुस्तक प्रकाशन गर्दाको अनुभवबारे बोलेको भिडियो रेकर्ड समेत देखाइएको थियो ।

एक सय ५१ पृष्ठको यो कविता संग्रह शनिबारबाटै सबैजसो प्रमुख पुस्तक पसलहरुमा उपलब्ध हुने जानकारी पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले दिनुभयो । मास्केका अनुसार यस किताबलाई संसारभरका पाठकले अमेजन मार्फत् पनि खरिद गर्न सक्नेछन् ।