विश्व मजदुर दिवस (मे १) का अवसरमा पोखराका मजदुर कवि इन्द्र राना ‘प्रतीक’ ले सोमबार काठमाडौंमा आफ्ना कविता सुनाउने हुनु भएको छ ।
थापागाउँस्थित मण्डला थिएटरमा कन्सेप्ट नेपालले आयोजना गर्ने ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा उहाँले एक दर्जन कविता सुनाउनु हुनेछ ।
उहाँको पहिलो कविता संग्रह ‘भुइँमान्छेका कविता’ लोकार्पणसँगै एकल वाचनसमेत हुन लागेको हो।
साथै उनलाई ५१ हजार रूपैयाँ नगदसहित सम्मान गरिने कार्यक्रम संयोजक अमृत भादगाउँलेले जानकारी दिनुभयो ।
‘उहाँको संघर्षपूर्ण जीवन प्रेरणादायी छ,’ भादगाउँले भन्नुभयो, ‘गुजाराका लागि जीवनभर ज्यालामजदुरी गर्दै आएका स्रष्टाको सम्मानमा हामीले कार्यक्रम गर्न लागेका हौं।’
बुक्स हिमालयले प्रकाशन गरेको ‘भुइँमान्छेका कविता’ कृतिमा ३३ वटा कविता छन्। उहाँका सिर्जनामा शोषित, पीडित, भुइँमान्छेका आवाज प्रतिविम्वित हुन्छन्।
६० वर्षको उमेरमा हिँडिरहनुभएको ‘प्रतीक’ अचेल पोखराको विन्ध्यवासिनी मन्दिरमा तीर्थालुका नरिवल फोर्ने र प्रसाद बनाउने काम गर्नुहुन्छ। विगतमा उहाँले कहिले सेती नदी किनारका बालुवा चाल्ने काम गरे भने कहिले घर बनाउने र रंग रोगन गर्नुभएको छ ।
पुर्ख्यौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको आफ्नो घर छैन। जग्गा पनि छैन। त्यसैले उहाँले डेराको जीवन बाँचिरहनुभएको छ । प्रकाशनका लागि उहाँका थुप्रै पाण्डुलिपि तयार छन्।
स्मरण रहोस, कन्सेप्ट नेपालले विगतमा वि.सं. २०७५ फागुन ११ गते काठमाडौंमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको एकल गायन कार्यक्रम गरेर उहाँलाई गायनमा पुनरागमन गराएको थियो।
साथै कन्सेप्ट नेपालले पर्यटन साहित्य प्रवर्द्धन गर्न खप्तड काव्ययात्रा–२०७५, फोक्सुन्डो काव्ययात्रा–२०७६ र आँपस्वारा काव्ययात्रा–२०७९ आयोजना गरिसकेको छ। ती ठाउँको प्रवर्द्धन गर्न काव्ययात्रा कोशेढुंगा बनेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।