साहित्यमा नयाँ नयाँ प्रयोग गरिरहने लेखकको रुपमा कुमार नगरकोटी प्रख्यात छन् । कहिलेकाहीँ उनी आफैँ यसलाई ख्याति नभनी कुख्याति भन्न रुचाउँछन् । यसपटक भने उनले आफ्नो नयाँ प्रयोग आख्यान लेखन कार्यशालामार्फत गर्ने भएका छन् ।

उक्त कार्यशाला यही बैशाख २२ देखि २४ गतेसम्म पोखरामा हुने भएको छ । लेखनमा आफ्नो निजी अनुभवका साथमा नगरकोटीले आख्यानका विविध पक्षहरुमा तीन दिनसम्म प्रस्तुति दिनेछन् । कार्यशालाको प्रशिक्षक रुपमा उनी पहिलो पटक पोखरामा प्रस्तुत हुँदैछन् । तीन दिनसम्म चल्ने सो कार्यक्रमको आयोजक संस्था नौलो बहस हो ।

यस किसिमको कार्यक्रम विदेशतिर प्रायः भइरहने भएता पनि नेपालमा भने यस किसिमको कार्यशाला कमै हुने गरेको पाइन्छ । यो कार्यशाला आख्यानमा रुचि भएका, लेख्ने सोच बनाएका र लेख्दै गरेका सर्जकहरुलाई फलदायी हुने कुरा कार्यक्रम संयोजक दीपक पराजुलीले बताए । कार्यक्रम सशुल्क रहेको छ ।