साहित्यपोस्ट

ज्ञानबहादुर थापा

बर्माका नेपालीभाषी साहित्यकार ज्ञानबहादुर थापाले गोपाल पाण्डे ‘असीम’ पुरस्कार प्राप्त गरेका छन् । विगत २५ वर्षदेखि नेपाली भाषा र साहित्यमा निरन्तर लागिरहेका थापाले नेपाली शिक्षा परिषद्ले दिने ५० हजार राशीको पुरस्कार प्राप्त गरेका हुन् । उनका झण्डै एक दर्जन भाषा र साहित्यका पुस्तकहरु प्रकाशित छन् ।

थापा बर्मामा भाषा र साहित्यमा सक्रिय रहेको अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक सङ्घ, शिक्षा विभाग प्रमुख पनि हुन् । थापा ऐरावती साहित्यिक पत्रिकाका प्रमुख सम्पादक हुन् भने साहित्यपोस्टका बर्मा संयोजक पनि हुन् । उनी बर्मामा नेपाली साहित्यकार जन्माउने अभियानमा पनि लागेका छन् ।

२०५० सालेखि साहित्यकार गोपाल पाण्डे असिमको नाममा नेपाली भाषा र साहित्यको सेवा गर्ने श्रष्टालाई शिक्षा विभागले यो पुरस्कार दिँदैआएको छ ।

त्यसैगरि आदिकवि भानुभक्त पुरस्कारको पनि घोषणा भएको छ । यो वर्ष एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार मुकुन्द शर्मा चालिसेले प्राप्त गरेका छन् । २०५४ सालदेखि दिन थालिएको यो पुरस्कार पनि भाषा र साहित्यमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई दिने गरिएको छ ।
यी दुवै पुरस्कार साउन ३२ गते एक सार्वजनिक कार्यक्रममा वितरण गरिने योजना छ ।

साहित्यपोस्ट विद्यूतीय पत्रिका उहाँहरुको उत्तरोत्तर प्र्रगतिको कामना गर्दछ ।