कविडाँडा साहित्य समाज चितवनले विभिन्न पुरस्कारहरूका विजयी नामहरू सार्वजनिक गरेको छ । समाजका कार्यवाहक अध्यक्ष उदय अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकले सो पुरस्कारका विजेता नाम सार्वजनिक गरेको हो ।

पुरस्कृत हुने स्रष्टाहरूमा कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजालसहित कवि मनु मञ्जिल, कथाकार सरस्वती रिजाल र कथाकार सीताराम कोइराला रहनु भएको छ । कविडाँडा साहित्य समाजको २० औँ वार्षिकोत्सवका अवसरमा स्रस्टाहरूलाई पुरस्कृत गरिने बताइएको छ ।

कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार- २०८० कवि मनु मञ्जिललाई दिइने भएको छ । इटहरी निवासी मञ्जिल कविता लेखनमा सक्रिय छन् । उनका `आँधीको आवेग´ र `ल्याम्पपोस्टबाट खसेको जून´ कवितासङ्ग्रह प्रकाशित छन् । पुरस्कारको राशी ३० हजार १६० रुपैयाँ रहेको छ ।

यसैगरी पत्रकार रिजाललाई कविडाँडा वाङमयी युवा प्रतिभा पुरस्कार- २०८० दिइने भएको छ । कायाकैरन दैनिक र कायाकैरन डटकमका सम्पादक रिजालको `एकान्तवास´ पुस्तक प्रकाशित छ । पुरस्कारको राशी १५ हजार १६० रुपैयाँ रहेको छ ।

कविडाँडा देवखीना स्मृति पुरस्कार- २०८० साहित्यकार सरस्वती रिजाललाई दिइने भएको छ । कथा लेखनमा सक्रिय रिजालको `प्रसङ्ग भ्रम र पात्रहरू´ कथासङ्ग्रह, `एक झुल्को घाम´ र `प्रबोधन´ कवितासङ्ग्रहलगायतका कृति प्रकाशित छन् ।

त्यस्तै कविडाँडा अविनाशी कृति पुरस्कार- २०८० सीताराम कोइरालाको कथासङ्ग्रह `जेम्स बौलाएको दिन´लाई दिइने भएको छ । कोइरालाका आधा दर्जन कृति प्रकाशित छन् । कोइरालालाई दिइने नगद राशी पनि जनही १५ हजार १६० रुपैयाँ रहेको छ ।

यी सबै पुरस्कार तथा सम्मान आगामी जेठ ६ गते शनिबार भरतपुरमा कार्यक्रमको आयोजना गरी प्रदान गरिने कविडाँडाका सचिव गणेश श्रमणले जानकारी दिनुभएको छ ।