भूगोल साहित्य समाजले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

लोकतन्त्र प्राप्तिका लागि शहादत हुने शहीदहरूप्रति श्रद्धान्जली अर्पण गर्दै प्रारम्भ गरिएको कार्यक्रमका प्रमुख अतिथि हिरण्यकुमारी पाठक र प्रमुख वक्ता साहित्यकार एवम् साहित्यिक पत्रकार रामप्रसाद पन्त हुनुहुन्थ्यो ।

प्रमुख वक्ता पन्तले निवृत्त कर्मचारीहरूद्वारा यस किसिमको कार्य हुनु प्रशंसनीय भएको भन्दै लामो जागिरे जीवन बिताएपछि निवृत्त हुँदा के गर्नु र कसो गर्नु हुने र एकखालको अन्योल उत्पन्न हुन सक्ने भएकाले त्यस्तो समयलाई साहित्यिक कृतिको अध्ययन तथा साहित्य सिर्जनामा लगाई सक्रियतासाथ बिताउन सकिने बताउनुभयो ।

उहाँले लामो व्यस्ततापछि स्वतन्त्र र फुर्सदिलो भएका कर्मचारीले साहित्य सिर्जनामा समय खर्चनु उपयुक्त हुने, यस्तो सिर्जना आफ्ना अनुभव,भोगाइ, घटेका घटनाको स्मरण र अनुभूतिहरूको रूपमा समाजलाई दिन सकिने धारणा राख्नुभयो । उहाँले सिर्जनाले व्यक्तिलाई अमर बनाउने हुँदा फुर्सदको समयलाई सिर्जना कर्ममा लगाउनु उचित हुने बताउनुभयो ।

प्रमुख अतिथि श्रीमती पाठकले आफ्नो समयको शैक्षिक एवम् सामाजिक परिवेश, जागिरे जीवन र साहित्य सिर्जनामा संलग्न भएपछिका अनुभूतिका विषयमा जानकारी गराउँदै निवृत्त कर्मचारीहरूले पठन एवम् साहित्य सिर्जनातर्फ लाग्नु उचित हुने तथा यसले निराशा र एक्लोपनबाट मुक्त गराउने बताउनुभयो ।

कार्यक्रमका अतिथि समाजका मानार्थ सदस्य उद्धव खनालले भूगोल साहित्य समाजको स्थापना र यसले सञ्चालन गर्दै आएका साहित्यिक गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

कार्यक्रममा कविहरू बद्धिराज पण्डे, मुकुन्द अर्याल, एलपी पराजुली, हरिश्चन्द्र गौतम, महेश रिजाल, शैलेन्द्रकुमार शाहलगायतले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा आयोजित कार्यक्रममा आगन्तुकको स्वागत र कार्यक्रम सञ्चालन समाजका सचिव शैलेन्द्रकुमार शाहले गर्नुभएको थियो ।

स्मरणीय छ, भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त कर्मचारीहरूद्वारा स्थापित साहित्यिक संस्था हो । विभिन्न अवसर र सन्दर्भ पारेर साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको झण्डै चार वर्ष अघि स्थापित समाजको यो २१ औँ कार्यक्रम हो । कार्यक्रम दरबारमार्ग स्थित समाजको सभाकक्षमा भएको थियो ।