रोल्पा नगरपालिका, नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको आयोजनामा आउँदो जेठ ५ र ६ गते रोल्पा जिल्लाको लिवाङमा चौथो रोल्पा सिर्जना महोत्सव आयोजना हुने भएको छ ।
सो महोत्सवका लागि राष्ट्रिय कविता प्रतियोगितासमेत आयोजना गरिने भएको छ । सोका लागि इच्छुक कविहरूबाट कविताको अपेक्षा गरिएको महोत्सव आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि कविता वैशाख ३० गतेभित्र पुग्नुपर्ने, कविको नाम, ठेगाना, इमेल र फोन नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने, यस्तैगरी कविता गद्य वा पद्य दुवैमा पठाउन सकिने र कतै प्रकाशन वा प्रसारण नभएको हुनुपर्ने बताइएको छ ।
कविताको मूल्याङ्कन दुई चरणमा गरिने, तीन जना निर्णायकहरूले १५० पूर्णाङ्कमा मूल्याङ्कन गरिने बताइएको छ । उत्कृष्ट १० कवितालाई अन्तिम मूल्याङ्कनमा समावेश गरिने र ती मध्येलाई ३० पूर्णाङ्कमा मूल्याङ्कन गरिने बताइएको छ ।
अन्तिम मूल्याङ्कनका लागि प्रतियोगीहरू स्वयं अनिवार्य उपस्थित हुनुपर्ने र उपस्थित कविहरूलाई यातायात, खानबस्न आयोजकले व्यवस्था मिलाउने बताइएको छ ।
थप जानकारीका लागि महोत्सव अध्यक्ष नवीन लोचनमगर (९८४७८७७६७२), सल्लाहकार डीबी टुहुरो (९८५७८३०७७७) तथा संयोजन समितिका ओम पक्षी (९८४७८६४२०३) लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
कविता nsksprolpa@gmail.com मा पठाउन सकिने महोत्सव आयोजक प्रतिष्ठानले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।