नेपाल प्रज्ञालङ्कार पुरस्कार चिनियाँ लेखक वाङ होङ्वेइलाई हस्तान्तरण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिएको उक्त पुरस्कार बेइजिङमा आयोजित एक समारोहमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले ९० वर्षीय चिनियाँ लेखक वाङलाई हस्तान्तरण गर्नुभएको हो ।

यसअघि नेपाल प्रज्ञा–प्रतिष्ठानले २०७८ असारमा काठमाडौँस्थित राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको पुरस्कार समर्पण समारोहमा भौतिक रुपमा उपस्थित हुन नसकेका वाङको सम्मानपत्र बेइजिङ पठाइएको थियो ।

उनले तीनहजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार पदवी पाउनुभएको थियो । नगद पुरस्कार पुराना लेखक वाङको बैंक खातामा दाखिला गरिएको थियो भने सम्मानपत्र बेइजिङ ल्याएर हस्तान्तरण गरिएको हो ।

नेपाली वाङ्मय क्षेत्रमा योगदान गरेवापत्जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ पुरस्कृत हुनुभएको हो ।

सन् १९३४ मा जन्मिनु भएका बेइजिङ निवासी लेखक वाङले पटकपटक नेपाल भ्रमण गर्नुका साथै दर्जन हाराहारी नेपालसम्बन्धी पुस्तकहरू प्रकाशित गर्नुभएको छ । सन् १९६३ मा नेपालमा गरिएको साहित्य र कलासम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा भाग लिनुका साथै चिनियाँ साहित्य र कला क्षेत्रमा नेपालको अध्ययन गर्ने एक प्रारम्भिक आगन्तुकमध्ये वाङ नै एक हुनुहुन्छ ।

सम्मान ग्रहण गर्दै लेखक वाङले सम्मानप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

चीनमा सांस्कृतिक क्रान्तिको १० वर्षपछि सन् १९८५ र त्यसपछि लगातार नेपाल भ्रमण गरेर उहाँले नेपालका बारेमा धेरै मोनोग्राफ र लेखहरू लेखी चिनियाँमाझ जनस्तरीय मित्रता र आपसी बुझाइमा योगदान गर्नुभएको छ ।