विदेशी रियालिटी शोका फ्रेन्चाइजहरू नेपाल भित्रिने क्रम चर्को थियो । यसमा महत्वपूर्ण नामहरूका रूपमा ‘को बन्छ करोडपति’, ‘हिमालय रोडिज’लगायत रहेका छन् । जसमध्ये केहीलाई ‘डन डिरेक्टर’का रुपमा परिचित अमन प्रताप अधिकारीले निर्देशन गरेका छन् । र, तिनै डिरेन्टरको महत्त्वकांक्षाले अर्गानिक रियालिटी शो ‘द पोएट आइडल’को जन्म भएको हो ।

साहित्यकार, गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारीका छोरा हुन् अमनप्रताप अधिकारी । आफ्ना दिवंगत बुबाका नाममा केही गर्ने हुटहुटी उनमा धेरै पहिलेबाट थियो, र त्यही हुटहुटीले ‘द पोएट आइडल’को जन्म गरायो ।

नेपालको पहिलो साहित्यसम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’ प्रशंसा र विवादका बिच पहिलो ‘आइडल’ घोषणाको सङ्घारमा आइपुगेको छ । अर्थात्, शोले पहिलो ‘पोएट आइलड’ पाउँदैछ जो भविष्यमा वास्तवमै नेपाली कवितामा ‘आइडल’ बनेर स्थापिन हुन सक्छ कि सक्दैन ? – उत्तर भविष्यकै गर्भमा छ ।

वैशाख ८ गते शुक्रबार द पोएट आइडल, पहिलो संस्करणको ग्रान्ड फिनाले हुँदैछ । दर्शक तथा स्रोताको भोट र निर्णायकको निर्णयसहित चार जना कवि ग्राण्ड फिनालेमा पुगेका छन् । विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा तथा सुरक्षा पन्तको निर्णयसँगै भोटको आधारमा नेपाली भाषी दुई भारतीय तथा दुई नेपालीले फिनालेसम्मको यात्रा तय गरेका छन् ।
पल्लविव र निलम गुरुङ नेपाली भाषी भारतीय हुन् भने नाथन रायान र मिल्सन राई नेपालबाटै प्रतिनिधित्व गर्दैछन् । अर्थात्, यिनै चारमध्ये एक बन्नेछन् पहिलो पोएट आइडल ।

‘कसरी लेखौँ म आफ्नै कविता जब म आफ्नै देशमा विदेशी छु’ कविताले निलम गुरुङको क्रेज ह्वात्तै बढायो । उनको आवाजमा रहेको शक्तिले उनका कवितालाई अझ शसक्त बनाएका छन् । खुलेर लेख्न मन पराउने र कुनै पनि विषयवस्तुलाई भिन्न कोणबाट नियाल्ने गुरुङ विजेताका दाबेदार हुन् । यसका केही बाहिरी कारणहरू पनि छन् ।

रियालिटी शोका लागि दर्शक नै भगवान् हो । अब भोटलाई वरदान मान्न सकियो । भगवान् र वरदानको मामिलामा निलम भाग्यमानी देखिएकी छिन् । उनलाई सिक्किम सरकारको प्रत्यक्ष समर्थन र सहयोग छ । उनलाई जिताउन सिक्किम सरकारका पिएस तामाङलगायत लागिपरेका छन । विभिन्न कार्यक्रममा पुगेर मुख्यमन्त्रीले उनका लागि भोट अपिल गर्ने गरेका छन् । नेपाली साहित्य परिषद् भवनमा मुख्यमन्त्रीका सचिवले त आर्थिक सङ्कलन नै गरेर निलमलाई जिताउनु पर्ने बताएका छन् ।

तर निलमलाई विजेतै बन्न भने सजिलो छैन किनकि उनका प्रतिद्वन्द्वी अन्य तीन कवि कमजोर छैनन् । कञ्चनपुरका नाथन रायन रङ्गमञ्चमा जमेका कलाकार हुन् । एक पटक बटम जोनमा परेका उनलाई त्यसपछि भने भोटरले साथ दिए । उनका कविता र प्रस्तुति पनि हरेक पटक फरक फरक हुने गर्छन् । छक्कापञ्जा चारमा एउटा गीत समेत गाएका नाथनलाई पनि विजेताको नजर ले हेर्ने ठूलो जमात छ ।

‘लज्जावती फूललाई बिना अनुमति सबैले छोए,
उनी विना स्पर्श स्वतन्त्र बाँच्न चाहन्छिन्,
भन्दिनु तिम्रो खोक्रो समाजवादलाई गौँथली मरिसकिन्
लज्जावती फूलहरू अब लजाउने छैनन्’

यी पंक्तिले उनको परिचय र सम्भावनालाई बलियो बनाएको छ । उनको फरक किसिमको लुक्सले समेत धेरै दर्शकको ध्यान तानेको छ ।

अर्का कवि छन्, नेपाली भाषी भारत बासी पल्लविव राई । सामान्य विषयलाई टपक्क टिपेर सरल शब्दमा कविता सलल बगाउँछन् उनी । दार्जीलिङे लवजमा कविताका मध्यमबाट मनलाई चसक्क पार्नु उनको शक्ति हो । आवाज र विषयको मौलिकता तथा शब्दको सरलताले उनलाई आइडलको फिनालेसम्म पुर्याएको छ । के थाहा, विजेतै बनाउने पो हो कि !

अर्का कवि छन् भोजपुरका मिल्सन राई । मिल्सनका कवितामा मात्र होइन, व्यक्तित्वमा पनि भावुकता झल्किन्छ । कवि हृदय भावुक नभई त कहाँ हुँदो हो र ! खैर, मिल्सनको कवित्वको एक विशेषता भनेको पहिचानवाद पनि हो । ‘विचार कुन देशमा जन्मिन्छ ? …’ उनको शक्तिशाली कविता मध्येको एक हो । उनका कवितामा देश र राज्यसत्ताप्रति गुनासा र प्रश्नहरू भेटिन्छन् । यो उनको हुर्काई र भोगेर आएको परिस्थितिले जन्माएको स्वभाव पनि हो, सायद । मिल्सन ‘द पोएट आइडल मिल्सन’ हुन पो के बेर !

फिनालेमा पुगेका चार कविहरू जनताले छानेका कवि हुन् । राम्रो, नराम्रो वा उत्कृष्ट भन्ने कुरा व्यक्तिसापेक्षा तत्त्व हो । चारै कविहरूमा हाम्रो शुभकामना । विजेता जो बने पनि, विजेतालाई नेपाली कविता क्षेत्रमा अलग्गै चित्र कोर्न सकोस्, फेरि पनि शुभकामना ।