वरिष्ठ साहित्यकार पोषण पाण्डेको ३१ औँ स्मृति दिवस हिजो विहीबार काठमाडौँमा मनाइयो ।
उक्त अवसरमा पोषण पाण्डे तीर्थ सदनले चितवन निवासी साहित्यकार भूपिनलाई उहाँले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानलाई कदर गर्दै “पोषण पाण्डे तीर्थ सदन पुरस्कार २०८०”ले सम्मानित गरिनुका साथै दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद प्रदान गरियो ।
विशिष्ट सहित्यकार, समालोचक, पत्रकार तथा परिवारजनको उपस्थिति रहेको उक्त समारोहलाई प्रमुख वक्ताको रुपमा रहेर वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर कुमार कोइरालाले साहित्यकार पोषण पाण्डेको कविता र कथा व्यक्तित्व बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।
पुरस्कार निर्णय कमिटीको संयोजक रहनुभएको वरिष्ठ साहित्यकार समालोचक प्राध्यापक डाक्टर गोविन्द भट्टराईको मन्तव्यलाई सदनका महासचिव रन्जु पाण्डेले वाचन गरेर सुनाउनु भएको थियो । डाक्टर भट्टराईले आफ्नो मन्तव्यमा नेपाली साहित्यमा आधुनिक कालका अगुवामध्ये एक रहनुभएको साहित्यकार पोषण पाण्डेको बारेमा नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक भएको टिप्पणी लेखी पठाउनु भएको थियो ।
छोटो समयमा नै पोषण पाण्डेजस्तै उत्कृष्ट गद्य र पद्य सृजना गर्न सफल भूपिनको चयनले नयाँ पुस्तालाई प्रेरणा र पोषण पाण्डेको आत्मालाई सन्तुष्टि प्राप्त हुने आफ्नो विश्वास प्रा. भट्टराईको थियो ।
भविष्यमा पोषण पाण्डेका कृतिहरू प्रकाशन, पुन:प्रकाशन तथा समीक्षा पनि गराउँदै जाने उद्देश्य लिएको यस सदनका कोषाध्यक्ष रामकुमार पण्डितले सञ्चालन गर्नुभएको उक्त समारोहलाई सदनका अध्यक्ष तथा समारोहका सभा-अध्यक्ष वरिस्ठ साहित्यकार विजय चालिसेले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।