‘बाल रामायण’ बालबालिकाका लागि बालबालिकाकै भाषामा लेखिएको पुस्तक हो । सरल शब्द र रङ्गीन चित्रको संयोजनले पुस्तकलाई बालबालिकाले पढ्न र बुझ्न सक्ने बनाएको छ ।
‘बाल रामायण’का लेखक सरदार रुद्रराज पाण्डे हुन् । पाण्डे नेपालको शिक्षा, साहित्य, इतिहास र आध्यात्मिक जागरणका प्रखर व्यक्तित्व हुन् । दरबार हाईस्कुलको पहिलो हेडमास्टर भएपछि पाण्डेले नेपालबार्ट एसएलसी परीक्षा दिलाउने तथा नेपालीमै पठनपाठन गराउने कार्यको थालनी गराएका थिए । यस अभियानलाई अघि बढाउन पाण्डेले इतिहास, उपन्यास, नाटक, कथा र बालकथाका थुुप्रै पुस्तकहरु लेखे ।
‘‘हिजोआजका अधिकांश बालबालिकालाई राम को हुन् भन्नेबारेमा जानकारी छैन । रामायणमा के छ भन्नेबारेमा पनि थाहा छैन ।’’, पुस्तकको भूमिकामा लेखक पाण्डे लेख्छन्, ‘‘जनकपुरमा सीताको रामसँग विवाह भयो । रामायणमा सीताको आदर्श चरित्र बखान छ । त्यस दृष्टिले पनि नेपाली मात्रले सीताको गुणगान गर्न करै लाग्छ । यिनै उदेश्यले बालबालिकामा रामायणबारे चञ्चुप्रवेश गराउन यो पुस्तक लेखिएको हो ।’’
बालमस्तिष्कदेखि नै आफ्नो धर्म, संस्कृति र सत्कर्मको बिजारोपण गर्न आवश्यक ठानी पाण्डेले बालसाहित्यसँग सम्बन्धित तीन वटा पुस्तक प्रकाशन गरेका छन् । पूर्वीय संस्कृतिका एक मर्यादा पुरुष रामको जीवनीसँग सम्बन्धित ‘बाल रामायण’ त्यसैमध्येको एक हो ।
इण्डियन पब्लिकेसन प्रेस प्राइभेट लिमिटेड इलाहाबादबाट सन् १९६२ मा ‘बाल रामायण’को पहिलो संस्करण छापिएको थियो । हाल उत्तमप्रसाद पन्तको सम्पादनमा पुन: प्रकाशित ‘बाल रामायण’ तेह्र उपशीर्षक (रावण, राम, जनकपुर, अयोध्या, रामको वनवास, सीताहरण, राम सुग्रीव मितेरी, सीताको खोज, शरण पर्न आएका विभीषण, राम–रावण युद्ध, विभीषणको राज्याभिषेक, भरतमिलाप र रामराज्य) मा विभाजित छ ।
‘‘मैले यो पुस्तकको एक प्रति फोटोकपी मेरा अनन्य मित्र प्रकाश कार्कीको सहयोगमा मदन पुरस्कार गुठीको पुस्तकालयबाट प्राप्त गरेको थिएँ । जम्माजम्मी ४२ पृष्ठको पुरानो लेटर प्रेसबाट छापिएको यो पुस्तकमा २६ वटा रेखाचित्रबाट कथालाई बालसुलभ मनमा प्रस्ट्याउन खोजिएको छ ।’’, सम्पादकीयमा उत्तमप्रसाद पन्त लेख्छन्, ‘‘आधुनिक रङ्गीन चित्रको सहायताले पुस्तकलाई जीवन्त बनाउन बालबालिकाले पढ्ने र बुझ्ने शैलीमा प्रस्तुत गरेको छु ।’’
रुद्रराज साहित्य सेवा समितिका लागि शारदा पाण्डे प्रकाशिका रहेकी छिन् । पुस्तकको मूल्य ‘निशुल्क’ लेखिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।