बाल्टिमोर / नेपाली भाषा र साहित्यलाई अमेरिकी भूमिमा थप विस्तार गर्नुपर्ने, यसका लागि अमेरिकी विश्वविद्यालय मातहतका एसियन अध्ययन केन्द्रमा नेपाली भाषालाई समेट्नुपर्ने साथै नेपाली साहित्यको विविध विधामा भावी पुस्तालाई आकर्षित गर्दै अपनत्व भाव सिर्जना गर्नुपर्नेमा वक्ताहरूले जोड दिनुभएको छ ।
आइतबार अमेरिकाको बाल्टिमोरमा आयोजित एक साहित्यिक कार्यक्रमका सहभागी वक्ताहरूले सो कुरामा जोड दिनुभएको हो ।
अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, मेरिल्याण्ड च्याप्टरले नयाँ वर्ष २०८० को अवसर पारेर आयोजना गरेको शुभकामना एवं च्याप्टरको नयाँ कार्य समितिको पदस्थापना कार्यक्रममा सहभागी लेखक एवं सर्जकले अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषाको थप प्रवर्द्धनका लागि उत्कृष्ट कृति सिर्जना गर्नुपर्नेमा समेत जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक डाक्टर ह्यारी भण्डारीले दशकौंसम्म नेपाली भाषाको जगेर्ना गर्नको लागि उत्कृष्ट कृति सिर्जना गरेर वा भएका कृतिहरूको अनुवाद गरेर जानुपर्ने धारणा व्यक्त गर्नुभयो । भावी पिंढीको लागि उपयोगी हुने र उनीहरुको रुचिलाई ध्यानमा राखेर साहित्य सिर्जना गरिनुपर्ने च्याप्टरका संस्थापक अध्यक्षसमेत रहेका भण्डारीको भनाइ थियो।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्मा, समाजका केन्द्रीय अध्यक्ष गोबर्धन पूजा, समाजका संस्थापक मध्येका भीम रेग्मी र पुरु सुबेदी लगायतले नेपाली साहित्य र समाजका गतिविधिबारे चर्चा गर्नुभएको थियो ।
नेपाली साहित्य आकाशकी मूर्धन्य साहित्यकार पारिजातको ८० स्मृति दिवसका अवसरलाई समेत जोडेर आयोजना गरिएको सो कार्यक्रममा सहभागी वक्ताहरूले मेरिल्याण्ड च्याप्टरले गरेका गतिविधिको सराहनासमेत गर्नुभएको थियो ।
च्याप्टरका अध्यक्ष भारत बराइलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेरिल्याण्डको राज्य संसदको दुवै सदनबाट हालै पारित दशैं विधेयकका बारेमा समेत सहभागीहरूले चर्चा गर्नुभएको थियो । हरेक वर्षको अक्टुबर ५ तारिखलाई दशैं दिवस मान्ने गरी मेरिल्याण्ड राज्य संसदका विधायक डाक्टर ह्यारी भण्डारीको अनवरत पहलले यो विधेयक पारित भएको छ। अब गभर्नरले अनुमोदन गरेपछि यसले औपचारिक रुपमा कानुनी मान्यता पाउँछ। यसका लागि विधायक भण्डारीको सबैले सम्मान गरेका थिए। सम्भवत: देशबाहिर दशैं दिवस भनेर कानुन बन्न लागेको मेरिल्याण्ड नै पहिलो राज्य संसद हुनेछ।
‘सुश्री पारिजात’ का लेखक साहित्यकार गोविन्द गिरी प्रेरणाले पारिजातको योगदानका बारेमा संक्षिप्त प्रकाश पार्नुभएको थियो सो कृतिमाथि अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तीर्थ पाण्डेयले समालोचनात्मक टिप्पणी गर्नुभएको थियो ।
च्याप्टर महासचिव मधुकर अधिकारीले संञ्चालन गरेको कार्यक्रममा च्याप्टरका संस्थापक महासचिव गौतम दाहालले च्याप्टर स्थापनाको पृष्ठभूमिसहित स्वागत गर्नुभएको थियो । कार्यक्रममा अनेसासका बोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्ष डाक्टर श्याम कार्की,मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक उत्तम गौली लगायतले बोल्नु भएको थियो ।
यसैगरी, कार्यक्रममा च्याप्टरको नयाँ कार्य समितिको पदस्थापन र विभिन्न सर्जकले आ आफ्नो सिर्जना समेत वाचन गर्नुभएको थियो । च्याप्टरका अध्यक्ष बराइलीले नव निर्वाचित अध्यक्ष नायिका पूजा चन्दलाई अध्यक्षको कार्यभार हस्तान्तरण गर्नुभएको थियो । तत्पश्चात नव निर्वाचित अध्यक्ष चन्दले कार्यभार ग्रहण गरेसँगै कार्य समितिका सबै पदाधिकारी, सदस्य र सल्लाहकार समितिको समेत परिचय गराइएको थियो। जस अनुसार च्याप्टरको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला,कोषाध्यक्षमा सन्दीप कोइराला र सदस्यहरूमा मोज शाही, भावना विष्ट,भीमविक्रम शाही र सविता अधिकारी रहनुभएको छ भने निवर्तमान अध्यक्ष बराइली समितिको पदेन सदस्य रहनुभएको छ ।
यसैगरी च्याप्टरको सल्लाहकारहरुमा डाक्टर श्याम कार्की, गौतम दाहाल, तीर्थ पाण्डे, पारस श्रेष्ठ,अर्जुन हमाल र डाक्टर उत्तम गौली रहनुभएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।