विदुर / साहित्य संगम नुवाकोटको वार्षिक–उत्सवको अवसरमा ११ जना स्रष्टालाई सम्मान पुरस्कारद्वारा विभूषित गरिएको छ ।

साहित्य संगम नुवाकोटको वार्षिक–उत्सव, कृति लोकार्पण, सदस्यता वितरण, स्रष्टा सम्मान तथा पुरस्कार अर्पण एवम् काव्य गोष्ठी कार्यक्रममा सुसन्देश लोक संस्कृति पुरस्कार तथा संगम साहित्य सम्मान–२०८० ले विक्रम जंग शाहलाई सम्मान गरिएको हो भने धनकुमारी तामाङ रत्न पुरस्कार तथा संगम साहित्य सम्मान २०८० दिव्य लक्ष्मी पोखरेल (काठमाडौँ), स्व. भवानी अधिकारी स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान २०८० केशवराज आमोदी (चितवन), सरस्वती पौडेल/ऋषिराम पौडेल रत्न पुरस्कार तथा संगम साहित्य सम्मान–२०८० भैरवी भूगोल (नुवाकोट) ले पाएका छन् ।

यस्तै नव क्षितिज पुरस्कार तथा संगम साहित्य सम्मान–२०८० प्रदिप रोदन (गोरखा), स्व. काशीनाथ गजुरेल स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान–२०८० डा. धनप्रसाद सुवेदी (खोटाङ), सुसन्देश पुरस्कार तथा संगम साहित्य सम्मान २०८०ओम रिजाल (दैलेख), संगम साहित्य पुरस्कार तथा सम्मान–२०८० शिखरनाथ ढकाल बेलकोटे कवि (नुवाकोट), संगम साहित्य पुरस्कार तथा सम्मान २०८० कवीन्द्र (नुवाकोट ), संगम साहित्य पुरस्कार तथा सम्मान–२०८० पूर्णकला घिमिरे पूर्णकला घिमिरे (मकवानपुर) लाई प्रदान गरिएको थियो ।

यस्तै नव क्षितिज पुरस्कार तथा संगम साहित्य सम्मान–२०८९ ध्रुव तामाङ (नुवाकोट) लाई प्रदान गरिएको थियो ।

त्यस्तै संगम पुरस्कार कोष स्थापनार्थ अक्षयकोषका लागि सहयोग पुर्‍याउनुहुने १०९ जना स्रष्टाहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

साहित्यकार मुना धिताल अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार रामहरि रिमाल, पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साहिँलो), कोषाध्यक्ष मीना लामिछाने,साहित्यकार डा. सत्यराज थपलिया, अरुणुकमार गिरी, धरहरा पुनर्निर्माण तथा संगम पुरस्कार कोष अभियन्ता ध्रुव गजुरेल, मध्य मश्चिमान्चल गजल मन्चका अध्यक्ष धीरेन अनुपम, बिदुर–४ का वडा अध्यक्ष तथा साहित्यप्रेमी नीलम ढुङ्गेल, संरक्षक तथा साहित्यकार मीन तामाङ, साहित्यकार सरु पौडल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शम्भु गजुरेल अज्ञानीको कुटुलीकोसा (कविता सङ्ग्रह –२०७९), शान्ति सिग्देलको भाव–सागर (कविता सङ्ग्रह –२०७९), सुविन रिमालको आमालाई चिठी (कविता सङ्ग्रह –२०७९), संगम (साहित्यिक पत्रीकाको– अंक ४,पूर्णाङ्क ४) लोकार्पण गरिएको थियो ।

कार्यक्रमका ७० जना भन्दा बढी स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो । ११९ जना स्रष्टाको उपस्थितिसँगै कार्यक्रमको उत्तरार्द्धमा गीतकार तथा कलाकर्मी अरुण गिरीले मन्तव्यसहित आफ्ना गीतको भिडियो रेकर्ड प्रस्तुत गरी मनोरञ्जन दिलाउनु भएको थियो ।

त्यस्तै साहित्य संगम नुवाकोटको विशिष्ट आजीवन सदस्य तथा साहित्यकार इन्दिरा चापागाईं (संखुवासभा) द्वारा स्थापित स्व.पद्मकुमारी स्मृति साहित्य पुरस्कार कोषको लागि संस्थाको नामममा रू. ५१,१५१ (एकाउन्न हजार एकसय एकाउन्न) हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रम साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीको सभापतित्वमा समपन्न भएको थियो । विगत पाँच वर्षदेखि संस्थाले स्रष्टाहरू सम्मान गर्दै आएको संस्थाका अध्यक्ष सुमीले जानकारी दिनुभयो ।