इलाम नगर पालिकास्थित अरनिको संग्रहालयको सभा हलमा कवयित्री पवित्रा घिमिरेको कविता संग्रह “केही कोपिलाहरू” एक समारोहका बीच विमोचन भएको छ ।
इलाम साहित्य संस्कृति तथा कला (इसासंक) प्रतिष्ठान इलामले आयोजना गरेको उक्त कृति विमोचन कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिकाका प्रमुख केदार थापा तथा विशिष्ट अतिथिका रुपमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल हुनुहुन्थ्यो । उक्त संग्रहमा विभिन्न शास्त्रीय छन्द तथा शीर्षकमा लेखिएका २६ कविता संग्रहित छन् ।
कार्यक्रममा नेपाली लेखक संघ इलाम समिति सदस्य रीना घिमिरेले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रमा बोल्दै छन्द चौतारीका संयोजक तथा साहित्यकार सोम निरौलाले प्रकाशित कृतिमा समावेश भएका कविताहरू अत्यन्तै समय सापेक्ष, मार्मिक तथा गहन विषयवस्तु उठान भएका तथा शिक्षाप्रद रहेका बताउनु भयो ।
आफूले १५/२० वर्ष पहिलेबाटै कविता, निबन्ध, गजल, कथा आदि लेख्ने गरेको तर संकलन र संग्रहका रुपमा सुरक्षित नरहेका र अन्य व्यावहारिक कारणले समयमा संग्रह प्रकाशन हुन नसकेको बताउँदै केही रचनाहरू पहिले नै सिर्जना गरेका र केही हालसालैका समावेश गरेर यो कृति तयार भएको कवयित्री पवित्रा घिमिरेले बताउनु भयो ।
आफू सानै हुँदा बुवाआमाले विभिन्न संस्कृतका श्लोकहरू वाचन गर्नुहुन्थ्यो र सोही सुनेर आफूले लेखन प्रारम्भ गरेको सर्जक घिमिरेले बताउनु भयो । उक्त अवसरमा सर्जकले आफूलाई छन्द सिकाउनु हुने गुरु घनश्याम निरौलादेखि “केही कोपिलाहरू” कृति प्रकाशन गर्दासम्मको समयममा हरपल सहयोग गर्ने आफ्ना घरपरिवारका सबै सदस्य, आफन्तजन तथा इष्टमित्र सबैलाई कृतज्ञता व्यक्त गर्नुको साथै प्रकशित कृतिमा समावेश पहिले कविता “सन्देश ” वाचनसमेत गर्नु भएको थियो । “केही कोपिलाहरू” कृति कवयित्री पवित्रा घिमिरेको पहिलो प्रकाशित कविता संग्रह हो ।
नयाँ वर्षको शुभकामना आदानप्रदान सँगसँगै आयोजन भएको उक्त विमोचन कार्यक्रममा विभिन्न स्रष्टाले शुभकामना व्यक्त गर्दै आ-आफ्ना मन्तव्य दिनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, इलाम नगरपालिका प्रमुख केदार थापा, इलाम नगर पालिका प्रवक्ता नूतन देव दुलाल, म र ब. क्याम्पस इलामका अध्यापक केशबहादुर राई, बुद्धिजीवी युद्धप्रसाद वैद्यले इलाम र सहित्य सिर्जनाको सम्बन्ध तथा इलामका अग्रज साहित्यकार तथा समकालीन सर्जकहरूका बारेमा आफ्ना भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा निर्मला संजेल, जीवनहरि शर्मा, गणेश निरौला, साहित्य चौतारी नेपाल –झापाकी सचिव खगिन्द्रा निरौला दाहाल, नेपाली लेखक संघ इलामका अध्यक्ष हरिनाथ फुयाँल, इलामे जेठो-शिव अधिकारी, कार्यक्रम संचालक जयरायण भट्टराई, नेलिन्ता घिमिरे आदि स्रस्टाले विमोचित कृति भित्रका तथा आफ्ना रचनाहरू वाचन गर्नु भएको थियो ।
कृति विमोचन कार्यक्रममा समाजसेवी तोयानाथ भट्टराई, प्राज्ञ/गायक तथा संगीतकार कोमल निरौला, इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान इलामका अध्यक्ष प्रकाश थाम्सुहाङ, नेपाली लेखक संघ इलामका अध्यक्ष हरिनाथ फुयाँल, लेखक संघ इलामका सदस्य राजेन्द्र बराल, म र ब क्याम्पस इलामबाट पूर्व क्याम्पस प्रमुख जसबहादुर लुंगेली, सह प्राध्यापक प्रकाशचन्द्र न्यौपाने, सामाजिक अभियन्ता कृष्ण घिमिरे लगायत साहित्य अनुरागी इलामेलीको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमको अन्त्यमा इलाम साहित्य संस्कृति तथा कला (इसासंक )प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमले आफ्नो शुभकामना मन्तव्य राख्दै केही सांगीतिक प्रस्तुति पनि दिनु भएको थियो ।
इलामबाट सन्तोष समीपको रिपोर्ट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।