साहित्यलाई बन्द कोठा, भव्य सभा, पार्टी प्यालेस र सामाजिक सञ्जालको कठघराबाट बाहिर ल्याएर आम सर्वसाधारण जनताहरूसँग प्रत्यक्ष जोडिएर दूरदराजका आम मानिसहरूलाई साहित्यसँग प्रत्यक्ष जोड्ने र सामाजिक जनचेतनामा अभिवृद्धि गर्ने मुख्य उद्देश्य राखेर सुन्ने सुनाउने अभियानको पहिलो संस्करण सम्पन्न गरियो ।

चितवन जिल्लाको सुदूर पूर्व राप्ती न.पा.-१० स्वामीटारस्थित राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा स्रष्टाहरूलाई स्थानीय शोभा चेपाङ र कमलाकुमारी सुनुवारले चुवा फूलको माला अर्पण गर्दै अभियानको पहिलो शृङ्खला शुरू गरिएको थियो ।

प्रधान अध्यापक आसमान तामाङ राप्ती नगरपालिका वडा न. १० का वडा अध्यक्ष तेजबहादुर तामाङको विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

नमस्ते आधुनिक लघुकथा मञ्च चितवनबाट अभियन्ता मिठु डल्लाकोटी, घनश्याम डल्लाकोटी हुनुहुन्थ्यो र लघुकथा चौतारी मकवानपुरका अभियन्ताहरू किशन पौडेल, श्यामप्रसाद श्रेष्ठ, समीर पाख्रिन, तोयनाथ सुवेदी, विष्णुप्रसाद गौतम र भरतपुरबाट प्रभादेवी पौडेलले आआफ्ना लघुकथाहरू उपस्थित आम सर्वसाधारण पाठकहरूमाझ वाचन गरेर सुनाउनु भएको थियो ।

यस अवसरमा स्थानीय स्वामिटार र खहरेका विभिन्न राष्ट्रिय आधारभूत विद्यालयका प्रधान अध्यापक आसमान तामाङ, सक्तबहादुर बि.क. दशरथ तामाङ, तामु गौरी, स्वास्थ्य चौकी इन्चार्ज कुमार सापकोटालाई विभिन्न लघुकथा कृतिहरू हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा किशन पौडेलले लघुकथाको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि लघुकथाकार एवम् समीक्षक मनिषकुमार शर्मा समित काठमाडौँबाट हुनुहुन्थ्यो । कार्यक्रमको संयोजन नमस्ते आधुनिक लघुकथा मञ्च चितवनका कृष्णजी शर्मा र लघुकथा चौतारी मकवानपुरको तर्फबाट किशन पौडेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन मिठु डल्लाकोटीले गर्नुभएको थियो ।