कवि प्रकाश दिप्साली राईको “त्यो तिम्रो मनमा” हिजो एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
हिजो स्वर्णिम साहित्य समाज, बराहक्षेत्र -३ ले एक कार्यक्रमबीच सो गीतलाई सार्वजनिक गरेको हो । कार्यक्रमका प्रमुखअतिथि बराहक्षेत्र -३ का वडाअध्यक्ष राजदीप लामाले सो गीतलाई सार्वजनिक गर्नुभएको हो ।
कवि दिप्साली राईको सो गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ भने रामबाबु राईले सङ्गीत भर्नुभएको छ ।
मिक्सिङ एरेन्ज राजु कार्कीले गर्नुभएको छ । किङ्स स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा सुरेश राईले रेकर्डिस्टको भूमिका निर्वाह गर्नुभएको छ । जेस्केलो क्रिएसनले स्टुडियो भिडियो तयार पारेको हो ।
गीत सार्वजनिक भएपछि आफ्ना कुरा राख्दै गीतकार दिप्सालीले सपनाहरू देख्दै जानु पर्ने रहेछ, पूरा हुँदै जाने रहेछ भन्नुभयो । आफूले कुनै दिन देखेको सपना पूरा भएको भन्दै उहाँले काममा विश्वास गर्ने भएकाले सफलता असफलताले आजसम्म फरक नपारेको समेत बताउनुभयो ।
“म सिर्जनामा विश्वास राख्ने मान्छे हुँ, यो समाज र सिर्जनाले दिएको जिम्मेवारी पूरा गर्न म र मेरो संस्था सदा कटिबद्ध छ । स्वर्णिम साहित्य समाजको अक्षयकोष अभियानमा जोडिएर साथ दिन सबैलाई अनुरोध गर्दछु । हामी बराहक्षेत्रको नामलाई उचाईमा पुर्याउन चाहन्छौं,” उहाँले भन्नुभयो।
यस्तै सो गीतलाई गायक निरज राईले कार्यक्रम स्थलमा सुमधुर स्वरमा प्रस्तुत गर्नुभएको थियो । उहाँले दिप्सालीको गीत लेखनबाट आफू प्रभावित भएको समेत बताउनुभयो ।
सोही अवसरमा स्थानीय रचना वाचनको कार्यक्रम राखिएको थियो । सो कार्यक्रममा दर्जन बढी सर्जकले आफ्नो सिर्जना प्रस्तुत गर्नुभयो । प्रकृति राई, शारदा निरौला “शारु”, सूर्य तामाङ, रवीन्द्र केदेम, सविता फागो, विमला श्रेष्ठ , वर्षा भण्डारी , दीपा मग्राती, सूर्य बस्नेत, छविलाल चौधरी, लक्ष्मण कटुवाल लगायतले आफ्नो रचना प्रस्तुत गर्नुभयो ।
यस्तै कार्यक्रमका विशेष अतिथि बेलायतबाट आउनुभएका पर्यावरणीय कवि विजय हितानले मनसुन जस्ता शक्तिशाली कविता वाचन गर्नुभयो भने दिलिप बान्तावाले “नयाँ वर्ष” र “रगत माग्ने देशको नाममा” जस्ता शक्तिशाली कविता प्रस्तुत गर्नुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 









