जनकपुरधाम, वैशाख २ / नयाँ वर्षको अवसरमा समाजमा सचेतना बढाउने उद्देश्यले धनौजी गाउँपालिका-५ बहुअर्वामा पुस्तकालय स्थापना गरिएको छ ।

सामुदायिक सिकाइ तथा सामाजिक विकास केन्द्रअन्तर्गत पुस्तकालयको स्थापना गरिएको हो ।

शनिबार एक समारोहबीच धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साह तथा वडाध्यक्ष मो. याकुव कवारीले संयुक्त रुपमा उदघाटन गर्नुभएको हो ।

पालिका अध्यक्ष साहले श्रृजनात्मक कामका लागि स्थापना भएको पुस्तकालयलाई चाहिने आर्थिक सहयोग आफ्नो कार्यकालमा नियमित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केन्द्रका अध्यक्ष शिवसागर साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा लोसपाका नेता जीवेन्द्र झा, केन्द्रका सचिव रामकृपाल महतो, पूर्ववडाध्यक्ष कमल नारायण पंकज,वरिष्ठ अधिवक्ता देवेन्द्र ठाकुर निरालालगायतको उपस्थिति थियो ।