
नयाँ वर्ष २०८० को अवसरमा आख्यानकार कल्पना खरेलले ‘पुरुष’ उपन्यास बजारमा ल्याउनुभएको छ । उज्जवल भविष्यको आशा राख्ने लेखक खरेलको नयाँ कृति ‘पुरुष’ उपन्यासमा विवेक र नैतिकतालाई हतियार बनाएकी छन् । यस उपन्यासमार्फत पुरुषहरूको अन्तर्भावनाको आवाज मुखरित गर्नुभएको छ ।
नारी मात्र पीडित छैनन्, पुरुषहरू पनि उत्तिकै पीडित छन् भन्ने भाव व्यक्त भएको यस उपन्यासमा पुरुषभित्रको सकसलाई भित्रैसम्म पसेर सूक्ष्म अन्तरदृष्टि लगाएर विषयवस्तु उनिएको उपन्यासकार खरेलले बताउनुभयो ।
‘यो घर–घरको कहानी हो । पुरुषभित्रको दमन, कुण्ठा र पीडाको भवसागर हो यो उपन्यास । हरेक पुरुषको वेदनाको आवाज हो । पुरुष अधिकारको यस उपन्यासले नेतृत्व गरेको छ,’ उपन्यासकार खरेलले साहित्यपोस्टसँग भन्नुभयो ।
घरमा सासू–बुहारीबीच बेमेलको वातावरण सृजना हुँदा एक पुरुष अति नै असहज स्थितिबाट गुज्रिरहेको हुन्छ । कसलाई स्वीकार्नु ? अनि कसलाई त्याग्नु ? आपसमा मिल्दै नमिल्नेलाई कसरी मिलाउनु ? पुरुषले भोग्ने यस्तो पीडाका बारेमा कहीँकतै आवाज उठेको छैन । बरु तिनै सासूबुहारीलाई उचालेर बाहिरी तत्त्वले परिवारभित्र खेल्ने गर्दछन् । जसको पीडा पनि त्यही पुरुषले भोग्नुपर्छ । यस्तै घरघरको कहानी यस पुरुष उपन्यासमा रहेको खरेलले बताउनुभयो ।
महिलाद्वारा लेखिएको पुरुष मनोविज्ञानमा आधारित ‘पुरुष’ उपन्यासमा ‘मर्द’को खोलभित्र लुकेका अनेकौँ कुण्ठाहरूसमेत उद्घाटन गरिएको उहाँले बताउनुभयो । कतै पुरुषका आँसु पोखिएको छ त कतै पुरुष महिलाको चक्रव्यूहमा फँसेको कथा यस उपन्यासमा छ ।
खरेलका यसअघि पनि आधा दर्जनभन्दा बढी कृति प्रकाशित भैसकेका छन् । उहाँका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, रानीतलाउ उपन्यास,‘रागिनी’ कथासंग्रह, ‘क्षितिजपारिका शब्दहरू’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् । खरेलको शब्दमा रहेको ‘सेतो कात्रोमा गोजी’ हुँदैन रचना लगायत दुई दर्जन गीतहरू समेत रेकर्ड भइसकेका छन् ।
खरेलको पछिल्लो कृति ‘पुरुष’ मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

‘अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ कल्पना खरेललाई
