लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ । बिएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास भर्खरै बजारमा ल्याएको हो ।

‘दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन्,’ लेखक न्यौपानले भन्नुभयो, ‘तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ ।’

‘ठुलो षड्यन्त्र भयो दरबारमा । राजा वीरेन्द्रको वंश नाश गरियो तर दोष चाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो । जुन कुरा जनताले पत्याउन सकेका थिएनन् । उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ,’ उपन्यासले दरबार हत्यकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको उपन्यासकार न्यौपानेले बताउनुभयो ।

‘खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो । यसले आम जनतामाथि न्याय त गर्ने नै छ यसको साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्ने छ,’ प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले भन्नुभयो ।

लेखक न्यौपानेको यो दशौँ कृति हो । यसअघि उहाँको ‘दरबारबाहिरकी महारानी’ निकै रुचाइएको किताब हो । नयाँ उपन्यासको बजार मूल्य रु. ५२५ रहेको छ ।