लेखक बीएन जोशीको पुस्तक श्रमाटनको अंग्रेजी संस्करण काठमाडौँमा एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, साहित्यकारहरू श्यामल, युयुत्सु शर्मा, आप्रवासी विज्ञ सरु जोशी श्रेष्ठ, अनुवादक अरुण बुढाथोकीलगायतले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् ।
यो पुस्तक गत महिना अन्तर्राष्ट्रिय पुस्तक मेला दिल्लीमा पहिलोपल्ट सार्वजनिक भएको थियो ।
कार्यक्रममा कांग्रेस महामन्त्री तथा प्रतिनिधि सभा सदस्य शर्माले वैदेशिक रोजगारीमा जानेको व्यथा अहिले पनि उस्तै रहेको बताए । ‘श्रमाटनमा पूर्वी एसियाली देशहरु र खाडीको कथा व्यथा छ भने अहिले अफ्रिकादेखि युरोप, अमेरिकासम्मको श्रमाटन चलिरहेको छ ।’ उनले भने, ‘यसभित्रका सुकुटी, डिना सुलोभा, उड्दा उड्दै उड्यो डेढलाखलगायतका च्याप्टर मैले नेपालीमा २ वर्ष अघि नै पढेको रहेछु । जुन स्मरणमै छन् । यो एउटा प्रतिनिधि मुलक कृति हो ।’
अहिलेको परिवेशमा वैदेशिक रोजगारी मुलुकको आवश्यकता रहेको धारणा राख्दै शर्माले थपे, ‘पहिले बन्द समाज थियो, ४६ सालपछि धेरै चीजहरु खुला रुपमा अगाडि आए । संसारमा कुनै यस्तो देश छैन जुन देशका नागरिक कामका लागि अन्य मुलुकमा जादैनन् । नेपालमा रोजगारीको ग्यारेन्टी नभएसम्म बाहिरी रोजगारीको ढोका खोल्नु राज्यको दायित्व हो । हामीले यो पनि बिर्सन हुँदैन कि वैदेशिक रोजगारीकै विप्रेषणका कारण देशले सास फेरिरहेको छ ।’
कार्यक्रममा वक्ताहरुले नेपालको वैदेशिक रोजगारको अवस्थाबारे परिचर्चा गर्दै किताबका सम्पादक तथा कवि युयुत्सु शर्माले यस्तो चल्तीको विषयगत साहित्यलाई नेपाल सरकारले समेत प्रोत्साहन गर्नुपर्ने धारणा राखे । उनले भने, ‘बेरोजगारी समस्या दक्षिण एसियामा मात्र नभएर सारा विश्वको समस्या हो । यस किताब भित्रका कथाहरु यति भयानक छन् कि कल्पना गर्न समेत मुश्किल पर्छ । भगवानलाई धन्यवाद भन्नुपर्छ, जोशी जिउँदै फर्किए । सँगसँगै लाखौं श्रमिकहरुको कथा कृतिमार्फत आयो ।’
साहित्यकार श्यामलले निबन्ध र संस्मरण विधामा यति सुन्दर र सत्यमा आधारित किताब कहिल्यै नपढेको बताए । उनले भने, ‘यस किताबको ठुलो शक्ति र सामथ्र्य भनेको लेखक बीएन जोशीले आफ्नो व्यक्तित्वलाई नक्कली जलप लगाएर बचाउनुको सट्टा इमान्दारी पूर्वक प्रकट गर्नुभएको छ । संस्मरण बढीजसो झुटको पुलिन्दा हुन्छन् । तर यो जीवन्त छ । यस्तो समसामयिक विषयमा लेखिएको श्रमाटन दुर्लभ ग्रन्थ हो ।’
श्यामलले राज्य नै नेपाली नागरिकलाई अपराधी बनाउन लागिपरेको आरोपसमेत लगाए । ‘मानिसहरु लुकेर जोखिम मोलेर विभिन्न मुलुकमा गइरहनु परेको छ । हामीले चुनेर पठाएका नेताहरुले के गर्लान् ?’ श्यामलको प्रश्न थियो । ‘संसदमा यो किताब अगाडि राखेर छलफल होस् ।’ सांसद शर्मातिर फर्किएर श्यामलले भने ।
वैदेशिक रोजगारमा अवैधानिक रुपमा जानेहरुको मरण कारुणिक हुने उल्लेख गर्दै यस विषयमा सरकारले सम्बोधन गर्नुपर्ने माग सरु जोशी श्रेष्ठको थियो । उनले भनिन्, ‘साउदी अरबको आप्रवासी अनुगमनका क्रममा ट्रलीमा लेखिएका शब्दहरु र पोतिएका नेपालका झण्डा देख्दा ती नेपाली श्रमिकहरु पो नेपालका असली राजदुत रहेछन् भन्ने लाग्यो ।’
खाडीको यात्राले आफूलाई समेत लेखक बनाएको उल्लेख गर्दै सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि मतदानको अधिकार दिनुपर्ने श्रेष्ठको माग थियो । लेखक बीएन जोशी यस पुस्तकमार्फत लाखौं श्रमिकहरुको नेता भएको सरूको जिकिर रह्यो ।
श्रमाटनका लेखक बीएन जोशीले किताबको पृष्ठभूमिको बारेमा ब्याख्या गर्दै २०/२५ वर्षअगाडिका परिघटनाहरु स्मरण गरे । ‘अहिले आएर कल्पना जस्तो लाग्छ म आफैँलाई समेत । तर ती सबै सत्य थिए । अब बिस्तारै यस कृति इतिहास बन्नेछ, सायद । एउटा पुस्तकले पूर्णता पाउनमा धेरैजनाको हात र साथ रहन्छ । परिवेश, परिघटना, पात्रहरु, लेखन, सम्पादन अनि प्रकाशन र आत्मीय मित्रहरुको सहयोग । यसमा धेरैजनाको योगदान रहेको छ । सम्पूर्ण स्नेही मनहरुप्रति आभारी छु ।’, जोशीले भने ।
निबन्धकार तथा समालोचक कुमारी लामाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
निराला पब्लिकेशन्स भारतले अंग्रेजीमा ल्याएको यो किताबमा नेपालीले वैदेशिक रोजगारीका क्रममा भोगेका कष्टकर र जोखिमपूर्ण दु:खहरुको फेहरिस्त रहेको छ । जुन लेखक स्वयंको संस्मरण हो । प्रकाशकका अनुसार पुस्तक बजारमा पाइनुका साथै अमेजन, दराजलगायतका अनलाइन पोर्टलका माध्यमबाट समेत संसारभर किन्न पाइन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।