कैलाली, चैत्र २७/ शनिबारदेखि शुरु भएको टीकापुर साहित्य महोत्सव संगीत सन्ध्या कार्यक्रमसहित समापन भएको छ । चर्चित गजल के लत बस्यो मलाईका गायक तिलकसिंह पेलासहितका कलाकारको प्रस्तुतिसँगै साहित्य महोत्सवको समापन भएको हो ।
यसअघि साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न सातवटा सत्रमाथि बहस भएको थियो ।
सबल स्थानीय सरकार: विकासको मुलआधार, नेपाली नाटक मञ्चन: विगत र वर्तमान, स्थानीय विकासमा समुदायको परिचालन, बदलिँदो स्थानीय समाज सहज कि असहज, कुन सबल ? थारु लेखक कि थारु पात्र, सुदूरपश्चिम विकासमा सधैं पछाडि किन पछाडि ? नेपाली साहित्यमा सुदूरपश्चिम कहाँ छ ? आदि विषयमाथि चर्चा परिचर्चा भएको थियो ।
नेपाली साहित्यमा सुदूरपश्चिम कहाँ छ विषयमा सुदूरपश्चिम प्राज्ञ प्रतिष्ठानका उपकुलपति डा.टी एन. जोशी, उपान्यासकार विवेक ओझा र जनक रसिक बहस गर्नुभएको थियो ।
सुदूरपश्चिम विकासमा सधैं किन पछाडि विषयमाथि राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डाक्टर जनकराज शाह र नेपाल सरकारका पूर्व सचिव अनुप उपाध्यायले पत्रकार प्रशान्त अर्यालसँग बहस गर्नुभएको थियो ।
कुन सबल ? थारु लेखक कि थारु पात्र माथि साहित्यकार कृष्णराज सर्वहारी, लेखक बालिका चौधरीसँग लेखक शेखर खरेलले बहस चलाउनु भएको थियो ।
बदलिँदो स्थानीय समाज सहज कि असहज ? विषयमाथि सुदूरपश्चिम प्रदेश योजना आयोगकी सदस्य माननीय दीपिका भट्ट, टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशर कुँवर, सामाजिक अभियन्ता रामबहादुर चौधरीले पत्रकार एकेन्द्र तिमिल्सेनासँग परिचर्चा गर्नुभएको थियो ।
त्यस्तै स्थानीय विकासमा समुदायको परिचालन शीर्षकमाथि सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री डाक्टर रणबहादुर रावलसँग पत्रकार सम थापाले बहस गर्नुभएको थियो ।
महोत्सवको महत्त्वपूर्ण सत्रका रुपमा रहेको नेपाली नाटक मञ्चन: विगत र वर्तमान शीर्षकमा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा सुप्रसिद्ध कलाकार निशा शर्मा, सुप्रसिद्ध नाटककार अशेष मल्ल तथा कलाकार सरिता गिरीसँग कलाकार सरस्वती चौधरीले परिचर्चा गर्नुभएको थियो ।
त्यस्तै सबल स्थानीय सरकार, विकासको मुल आधार विषयमा टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारु र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीसँग पत्रकार रमा चन्दले बहस चलाउनु भएको थियो ।
टीकापुर साहित्य समाजद्धारा पहिलो पटक आयोजित टीकापुर साहित्य महोत्सवको समापन समाजका उपाध्यक्ष एवं एनआरएनएका केन्द्रीय पूर्व कोषाध्यक्ष हिक्मत थापाको धन्यवाद मन्तव्यबाट समापन भएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।