हेटाैंडा / घरकाे कामधन्दामा व्यस्त हुनुपर्ने गृहिणी ‘आमा’हरुले पठन बानीकाे बारे आफ्ना राेचक अनुभवहरु साटासाट गरेका छन् । किताब पठनमा औधि रुचि राख्ने हेटाैंडाका दुई गृहिणी पाठक उमा मैनाली र ज्ञानु अर्यालले पठन संस्कृतिकाे महत्त्व र यसका फाइदाका बारेमा बताउनुभएको छ।

हेटाैंडा- ४ स्थित भैरवराेडमा रहेकाे किताबघरले सुरु गरेकाे किताबकाे शृङ्खला २ अन्तर्गत ‘पढ्ने समय कसरी निस्कन्छ आमाहरूकाे’ विषयक बहसमा पुस्तक अध्ययनबाट प्राप्त हुने ज्ञान, उपयाेगिता र आत्मसन्ताेषबारे चर्चा गरिएकाे हाे । किताबघरका प्रबन्ध निर्देशक छवि अनित्यले दुई गृहिणी पाठकका अन्तर मनका अनुभवहरू खाेतल्ने प्रयास गर्नुभएको थियो ।

हेटाैंडा ९ की उमा मैनालीले आफूले घरका सबै काम सकेर विभिन्न किसिमका किताबहरू पढ्ने गरेकाे सुनाउनुभयो । पढ्दा आत्मसन्तुष्टि हुने सुनाउँदै उहाँले किताब अध्ययनबाट धेरै ज्ञान समेट्न पाएकाे पनि बताउनुभयो । ‘घरकाे काम सकेर बाँकी रहेकाे समय खेर फाल्दिनँ, फुर्सद हुनेबित्तिकै किताब लिएर बस्ने बानी नै छ,’ मैनालीले सुनाउनुभयो, ‘पढेर कसैलाई घाटा छैन, जतिसक्दाे पढ्नुपर्छ ।’ मानिसहरूमा अध्ययन गर्ने बानी नै नभएकाेमा उहाँले चिन्ता गर्नुभयो । ‘आफूले पढेकाे कुरा, आफूले पाएकाे ज्ञान अरुले पनि पाइदिए हुन्थ्याे भनेर धेरैलाई किताब पढ्न अनुराेध गर्ने गरेकाे छु तर, कसैले पढ्ने बानी गरेनन् । फूर्सदमा माेबाइल चलाउने, सुत्ने गर्नुभन्दा पढे त धेरै ज्ञान पाइन्थ्याे ।’ उहाँले भन्नुभयो, ‘किताब एउटा यस्ताे साथी हाे जसले तपाईंलाई कहिलै एक्लाे महसुस हुन दिँदैन ।’

अर्की पाठक ज्ञानु अर्यालले किताब पढ्ने त आफूलाई लत नै बसेकाे सुनाउनुभयो । थाेरै समय निस्के पनि अध्ययनमै खर्चने गरेकाे उहाँकाे भनाइ छ । पारिवारिक बाध्यताले कक्षा १२ भन्दा माथि अध्ययन गर्न नपाएकाे बताउने उहाँले अनाैपचारिक पुस्तकहरु सयाैँ अध्ययन गरेकाे सुनाउनुभयो । ‘पहिलेपहिले त त्यति धेरै पढ्ने फुर्सद हुने थिएन तै पनि पढ्थेँ, अहिले त छाेराछाेरी हुर्के, घरधन्धा सकेर पढ्न धेरै समय मिलेकाे छ ।’ अर्यालले भन्नुभयो । फेसबुकलगायत सामाजिक सञ्जालकाे लतले मानिसहरुकाे मस्तिष्क नै साँघुराे बनाएकाे भन्दै फराकिलाे ज्ञान र आनन्दकाे लागि पुस्तक अध्ययन नै जरुरी रहेकाे उहाँले सुनाउनुभयो ।

पठन संस्कृतिकाे विकास गर्ने सेवामुलक तथा व्यावसायिक उद्देश्यले सञ्चालनमा आएकाे किताबघरले पाठक, लेखक तथा समीक्षकहरुसँग ‘किताबका कुरा’ शृङ्खला सुरु गरेकाे छ । किताबघरमा विद्यालय पाठ्यपुस्तकभन्दा बाहिरका साहित्य, कला, भाषा, संस्कृति, धर्म, इतिहास, राजनीतिलगायतका पुस्तक उपलब्ध हुने प्रबन्ध निर्देशक अनित्यले बताउनुभयो । ‘किताबका कुरा’ शृङ्खलाकाे निरन्तरतासहित अन्य विविध कार्यक्रम ल्याउने याेजना बनाएकाे उहाँको भनाइ छ ।