
पाल्पा / नारी साहित्य तथा संस्कृति प्रतिष्ठानले प्रकाशन गरेको ‘पाल्पाको भाषा, कला साहित्य र संस्कृति’ नामक कृति लोकार्पण गरिएको छ । प्रतिष्ठानले शनिबार एक कार्यक्रम आयोजना गरी तानसेनमा कृतिको लोकार्पण गरेको हो ।
प्रकाशित कृति लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य वीरबहादुर रानाले लोकार्पण गर्नुभएको हो । कृति विमोचन गर्दै प्रदेश सभा सदस्य रानाले पछिल्लो समय पाल्पा साहित्य, कला संस्कृतिको जिल्लाको रुपमा पहिचान बनाउँदै गएको बताउनुभयो । उहाँले पाल्पामा दिनहुँजसो साहित्यकारहरूले विभिन्न भाषा, कला, संस्कृति र इतिहासका विषयमा कृतिहरू प्रकाशन गर्दै आएकाले पाल्पाको पहिचान बढ्दै गएको बताउनुभयो । प्रदेश सांसद रानाले चोक चोकमा बसेर अरुको चित्रमाथि टीकाटिप्पणी गर्नुभन्दा आफ्नो र समुदायको चरित्र बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ‘साहित्यमा लाग्नु भनेको आत्मसन्तुष्टि पाउनु हो, जब मनमा आत्मसन्तुष्टि हुन्छ जीवन सार्थक हुन्छ, साहित्यले जीवनलाई सार्थक बनाउने र मनलाई बाँध्ने काम गर्छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा कृतिका समीक्षक तथा प्राध्यापक पुष्कर आचार्यले पाल्पाको कला, संस्कृति र साहित्यलाई अनुसन्धनात्मक रुपमा कृतिमा उल्लेख गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खोज, अनुसन्धान, ज्ञान, सूचनाको दृष्टिले कृति ओजिलो छ ।’ भाषा, कला संस्कृतिको जगेर्नाले समाज र राष्ट्रको पहिचान हुने भएकाले त्यसको संरक्षण गर्ने काम स्थानीय सरकारले धयान दिनुपर्नेमा समीक्षक आचार्यले जोड दिनुभयो । महिला साहित्यकारको अगुवाईमा कृति प्रकाशन हुनु आफैँमा गर्वको विषय भएको उहाँको धारणा थियो ।
प्रकाशन भएको कृतिमा विभिन्न विषयगत २० वटा अनुसन्धनात्मक लेख रचना रहेका छन् । कृतिको मूल्य ५ सय रुपैयाँ राखिएको छ । कृतिको विषयमा प्रकाश पार्दै कृतिका सम्पादक तथा प्रतिष्ठानका अध्यक्ष मन गहिरेले पाल्पाको भाषा, कला, साहित्य र इतिहास केन्द्रित लेख रचना भएकाले सबैका लागि पठनीय, संङग्रहयोग्य रहेको बताइन् ।
कार्यक्रममा लेखक निर्मलप्रसाद श्रेष्ठ, साहित्यकार विजया पन्त, हरि भट्टराई, पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई लगायतले कृति प्रकाशनले पाल्पाको कला,साहित्य र संस्कृतिका विषयमा ज्ञान लिन सहज हुने बताउनुभयो । कार्यक्रमका अवसरमा कृतिका लेखकहरूलाई सम्मान समेत गरिएको थियो । प्रतिष्ठानकी अध्यक्ष मन गहिरेको अध्यक्षता, सदस्य सरिता रेग्मीको स्वागत, सचिव मञ्जु कोइरालाको सञ्चालनमा कार्यक्रम चलेको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

