साहित्य अनि समाजमा योगदान पुर्याउने उद्देश्यले स्थापित पोषण पाण्डे तीर्थ सदनले चितवन निवासी साहित्यकार भूपिनलाई वहाँको साहित्य प्रतिको योगदानको कदर गर्दै सम्मानित गर्ने भएको छ ।

वरिष्ठ साहित्यकार समालोचक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय निर्णय समितिले गरेको उक्त निर्णयलाई पोषण पाण्डे तीर्थ सदनले अनुमोदन गरेको छ। निर्णायक समितिका अन्य दुई सदस्यमा वरिष्ठ साहित्यकार प्राध्यापक डा कुमार कोइराला तथा सदन महासचिव रन्जु पाण्डे रहनु भएको छ ।

वि.स. २०३० मा बाग्लुङमा जन्मनु भई हाल चितवनमा बस्दै आउनुभएको साहित्यकार भूपिन लामो समयदेखि साहित्य साधनामा अनवरत रुपमा लागिरहनुभएको छ ।

कविता, निबन्ध, उपन्यास जस्ता विविध विधामा कलम चलाउनु भएको वहाँ नेपाली अन्तर्राष्ट्रिय साहित्य समाज पुरस्कार, उत्तम शान्ति पुरस्कार लगायत अन्य थुप्रै पुरस्कारबाट सम्मानित हुन भएको छ भने आफ्नो पछिल्लो कृति मैदारो ( उपन्यास) को लागि वहाँलाई २०१९-२० अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारले समेत सम्मान गरेको छ ।

वरिष्ठ साहित्यकार पोषण पाण्डेको ३१ औं स्मृति दिवसको अवसरमा पोषण पाण्डे तीर्थ सदनले प्रदान गर्न गै रहेको यस पुरस्कारले उहाँको साहित्यिक यात्रामा राजमार्ग खुलाउँदै जाने शुभकामनासहित उहाँलाई यही आउँदो २०८० बैशाख ७ गते काठमाडौँको रामहिटीमा अवस्थित साहित्य सदनमा (कदर पत्र तथा नगद रु. तीस हजार सहित) सम्मान गरिने सदनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।