कविशिरोमणि लेखनाथ पौड्यालको सम्मानमा लेखनाथ साहित्य प्रतिष्ठान र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा खुला कविता प्रतियोगिता गरिने भएको छ ।

आगामी वैशाख २० गतेभित्र कविता पठाई सहयोग गर्न आयोजक संस्थाले आग्रह गरेको छ ।

प्रतियोगिताका लागि अप्रकाशित कविता हुनुपर्ने, कुनै पनि राजनीतिक दल, धर्म, जातजाति एवं सम्प्रदायलाई आक्षेप लगाइएको हुन नहुने, गद्य वा पद्य जुनै शैलीको कविता प्रतियोगी हुने, २५० शब्दमा नबढाई जुनै शीर्षकमा कविता पठाउन सकिने बताइएको छ ।

प्राप्त कवितामध्येबाट पहिलो चरणमा १५ कवितालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिने बताइएको छ ।

कविले आफ्नो नाम, ठेगाना, सम्पर्क फोनसहित पोखरा १२, रानीपौवा, पुरानोधारास्थित ग्लोबल कलिजियट स्कुलमा पदम राज ढकाल वा पोखरा प्रज्ञा प्रतिष्ठान, नयाँ बजार, दरबारथोकमा मोतीराज पोखरेल वा गण्डकी प्रज्ञा प्रतिष्ठान, बगर, पोखरामा कृष्णप्रसाद पौडेललाई रचना पठाउन सकिने बताइएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा चतुर्थ स्थान प्राप्त गर्ने कवितालाई ३० हजार, २५ हजार, २० हजार, १५ प्रदान गरिने बताइएको छ ।

पाँचौँदेखि १० औँसम्मका प्रत्येक कविताले १० हजार, एघारौँदेखि पन्ध्रौँलाई ५ हजार प्रदान गरिने भएको छ ।

यसैगरी हरेक पुरस्कृत कविहरूलाई लगभग ७ हजार बराबरको कविशिरोमणि रचनावली प्रदान गरिने बताइएको छ ।

प्रगतियोगिता २०८० वैशाख ३० गते शनिबार दिउँसो ११ बजे कविशिरोमणिकै जन्मस्थल पोखरा २७ स्थित अर्चलेमा आयोजन गरिने कार्यक्रमका संयोजक कृष्णप्रसाद पौडेलले जनाउनुभएको छ ।