शनिबार विराटनगरमा आयोजित एक समारोहमा ‘विराटनगरका कवि र कविता’ नामक कृतिको लोकार्पण गरियो । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित उक्त पुस्तकमा वि.सं.१९५३ देखि २०४९ सम्म जन्मिएका विराटनगरका १८३ जना कविका कविताहरू समावेश गरिएका छन् ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कविराज न्यौपानेले यो कृतिले विराटनगरको साहित्यिक इतिहासलाई अझ उजेल्न प्रशस्त सघाउ पुर्याउने बताउनुभयो ।
सो सभाका सभापति एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले यो कृति पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको १००औं कृतिको रुपमा रहेको र यो कृति विराटनगरको साहित्य अध्ययन गर्नेहरूका लागि गौरवमय दस्तावेज बन्न सफल भएको बताउनुभयो ।
साहित्यकार, समालोचक दधिराज सुवेदीले यो कृति विराटनगरको साहित्यिक इतिहासमा महत्वपूर्ण अभिलेखको रुपमा रहेको कुरा उल्लेख गर्नुभयो ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले विराटनगरमा समग्र जीवन समर्पण गर्नेदेखि लिएर जीवनको केही कालखण्ड यहाँको माटोमा
व्यतीत गरेका स्रष्टाहरूको कविता यस कृतिभित्र समेटिएको कुरा उल्लेख गर्नुभयो ।
सो कृतिका संयोजक एवं सम्पादक लक्ष्मी पोखरेलले केही अग्रज स्रष्टाहरूका साथै घरपरिवारको साथ सहयोगका कारण आफूले यस्तो खोजमूलक कृति तयार पार्न सकेको कुरा व्यक्त गर्नुभयो ।
सो समारोहमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेलले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो भने साहित्यकार लक्ष्मी उप्रेती तथा गुराँस पुस्तकालयका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेस नगर समिति अध्यक्ष दिपक चापागाईलगायतका व्यक्तित्वहरूले मन्तव्य प्रकट गर्नुभएको थियो ।
समारोहमा कविहरू सीमा आभास, राधिका गुरागाई, सविता गौतम दाहाल, भरत गुरागाई, प्रिन्स प्रमोद ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी रायमाझी, रोहिणी रसिक, ओम आचार्य, स्वयंभुनाथ कार्की,गोपाल निर्भिक, राधा भटराई, भीम कोइराला,लोचन रिजाल,शोभा लामा तथा स्वीकृति रेग्मी मुना लगायतले सङ्ग्रहभित्रका आआफ्ना कविता वाचन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 




