काठमाडौँ / आधुनिक समयको प्रेम र यौनमाथि लेखिएको आख्यानकार गोपी सापकोटाको प्रयोगपरक उपन्यास ‘चिसो बाफ’ आख्यानकार अमर न्यौपाने, निबन्धकार, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक गोपी सापकोटाले शनिबार राजधानीको मण्डला थिएटरमा विमोचन गर्नुभयो ।
कार्यक्रममा आख्यानकार अमर न्यौपानेले, ‘कथानकको संरचनामा नौलो प्रयोग र काल्पनिकता उपन्यासको विशेषता हो । सिर्जना आविष्कार हो र लेखनमा आविष्कार गर्ने उनको ट्रेन्ड हो । यो उपन्यासमा नेपालीमा लेखिएका कथाभन्दा नवीन शैलीको रहेको,’ बताउनुभयो । उहाँले भन्नुभयो, ‘लेखकले असामान्य कथालाई सहज ढंगले लेखेका छन् । उपन्यास पढेपछि पाठक सुन्दर सन्तुष्टिमा हराउँछ ।’
कल्पनाशीलता र प्रयोगधर्मीतामा उपन्यास अब्बल भएको पत्रकार, निबन्धकार दीपक सापकोटाले बताउनुभयो । ‘उपन्यासको कथानक, चारित्रीकरण, प्रयोग, शैली उद्धेश्यपूर्ण र अर्थपूर्ण छ । विसंगत पाटोको कथालाई अध्यारो स्वरुपमा भनिएको छ’, सापकोटाको भनाइ थियो, ‘पात्रहरू भ्रान्त पथिक छन्, विपरित चिन्तनले भरिएको विभ्रान्त अवस्थामा छन् । उपन्यासको निर्मिति भिन्न छ ।’
समालोचक ज्ञानु अधिकारीले ‘चिसो बाफ’ नेपाली साहित्यमा सुन्दर ढंगले लेखिएको प्रयोगपरक आख्यान बनेको बताउनुभयो । ‘प्रयोग छ, तर कथा असाध्यै सरल छ । प्रयोगधर्मी लेखन यति सरलसँग लेखिनु चुनौतीपूर्ण छ । पाठकलाई त्यही कथा बुझेजस्तो पनि, नबुझेजस्तो पनि लागिरहन्छ,’ उहाँले भन्नुभयो ।
विश्व साहित्यमा भइरहेका प्रयोगमाथि विमर्श गर्दै लेखक गोपी सापकोटाले प्रयोगधर्मी आख्यान लेख्न खोजेको र पाठकलाई फरक स्वाद दिन चाहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘पाठकलाई लागोस्, उपन्यासका घटनाहरू सपनाजस्ता हुन् भन्ने मेरो चाहना हो ।’ लेखक गोपी सापकोटाका यसअघि ‘पूर्णविराम’, ‘खरानी’, ‘प्रेम कतिपय’ नाटकसंग्रह र ‘का“चो कागज’ उपन्यास प्रकाशित छन् । किताब कलम प्रकाशनले प्रकाशन गरेको हो । किताबको मूल्य ४४५ रुपैयाँ छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।