
समालोचक डा. टंकप्रसाद पन्थकाे ”पाल्पाको साहित्येतिहास र अन्य समालोचना” शीर्षकको समालोचना कृति आज पाल्पामा एक भव्य कार्यक्रमका बीचमा सम्पन्न भयो । कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई आमन्त्रण गरिएको थियो । कार्यक्रममा समीक्षकका रूपमा समालोचक डा. शंकरप्रसाद गैरे हुनुहुन्थ्यो । यसैगरी पाल्पामा क्रियाशील साहित्यिक संघसंस्थाका प्रमुख प्रतिनिधि तथा सामाजिक क्षेत्रका व्यक्तिहरूकाे बाक्लो उपस्थिति थियोे ।
कार्यक्रम प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । यस लगत्तै प्रमुख अतिथि लगायत मञ्चमा रहेका व्यक्तिहरूले सामूहिक रूपमा कृतिको लाेकार्पण गर्नुभयो । कृतिमाथि समीक्षात्मक टिप्पणी डा. शंकरप्रसाद गैरेले गर्नुभयो । समालोचनाका दृष्टिले दाेस्राे र समग्र दृष्टिले यो पाँचौँ कृति रहेको कुरा उहाँले जाेड्नुभयाे । डा. पन्थका दर्जनाैँ फुटकर समालोचनाहरू प्रकाशन भएको कुरालाई समेत उहाँले सङ्केत गर्नुभयो । यस कृतिमा विविध प्रकृतिका एघारवटा लेखहरू समेटिएको प्रस्तुत कृतिमा सैद्धान्तिक र प्रायाेगिक समालोचनाहरू रहेको विचार उल्लेख गर्नुभयो । एघारवटै लेखहरूले समेटेको विषय तथा समालाेचकीय चेतलाई पनि उहाँले उल्लेख गर्नुभयो । प्राचीनदेखि उत्तरआधुनिक सिद्धान्तका सन्दर्भलाई उठाइएको यस समालोना कृतिमा विविधतालाई समेटिएको कुरा स्पष्ट पार्नुभयाे । कृति देख्दा आकर्षक हुनुका साथै गुणस्तरीय कागजको प्रयोग गरिएको कुराका साथमा कृतिको भाैतिक तथा प्राज्ञिक पक्षलाई झल्काउने काम गर्नुभयाे ।
कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य राख्नुभयाे । शीत काव्य समाज पाल्पाकी अध्यक्ष इन्दिरा ज्ञवालीले गुरु टंक पन्थकाे यस कृतिले विद्यार्थी तथा अन्य पाठकलाई बाैद्धिक खुराक प्रदान गर्ने कुरासहित बधाई ज्ञापन गर्नुभयो । गुल्मीको दिगाम जन्मथलोबाट पाल्पामा आएका लेखकका गुरु तथा सहकर्मी उपप्राध्यापक भेषराज सुवेदीले डा. पन्थकाे घरपरिवेशकाे सन्दर्भलाई उठाउनुका साथै लेखकको व्यक्तित्वमाथि प्रकाश पार्नुभयाे । रविलाल पन्थ प्रशासनिक क्षेत्रमा सचिव पदमा पुगेको र डा. टंक पन्थले साहित्यका क्षेत्रमा सुकिलाे पहिचान बनाएको सन्दर्भ जाेडी विद्यार्थीकाे उन्नति प्रगतिमा गुरुलाई गाैरव लाग्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
लेखकका भाइ अधिवक्ता लाेकनाथ पन्थले साहित्यमाथिको समालोचना कार्य सुन खार्नु जत्तिकै गाह्राे काम भएको सन्दर्भ उठाई दाजुकाे यस कृतिले पक्कै पनि स्रष्टाका सिर्जनाकाे चिरफार गरेको विश्वास व्यक्त गर्नुभयो । दाजुकाे साहित्यिक लगाव र याेगदानलाई झल्काई बधाईसमेत ज्ञापन गर्नुभयो ।
समाजसेवी तथा धवल पुस्तकालय पाल्पाका पूर्व अध्यक्ष बुद्धिप्रसाद शर्माले बाहिरबाट पाल्पामा आई शिक्षा, साहित्य तथा इतिहासका क्षेत्रमा याेगदान गरेका व्यक्तिहरूकाे याेगदानलाई स्मरण गरी साेही शृङ्खलामा डा. टंक पन्थ क्रियाशील रहेकाे सन्दर्भ जाेड्नुभयाे ।
त्रिभुवन बहुमुखी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख जीवनबहादुर थापाले डा. टंक पन्थकाे शैक्षणिक तथा साहित्यिक पाटाेलाई झल्काउनुभयाे । छन्दमा कविता लेखेर आफ्नो पहिचान बनाएका पन्थकाे समालोचना पनि सबल रहेको विचार व्यक्त गर्नुभयो । उहाँकाे समालोचनामा पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्तकाे प्रभाव रहेको कुरासमेत प्रकाश पार्नुभयाे ।
पाेखराथाेक साहित्य संगमका अध्यक्ष हरि भट्टराईले डा. टंक पन्थले सिर्जना र समालोचनालाई समानान्तर रूपमा हिँडाउन सफल रहेको प्रसङ्ग उठाउनुभयो । यस कृतिले पक्कै पनि पाठकहरूलाई बाैद्धिक खुराक दिनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
लेखकका भान्जादाइ तथा साहित्यकार फणीन्द्र बस्यालले माउली गाउँ दिगाम, मामाघरकाे रमणीय वातावरणलाई जाेडी लेखकको जीवनका झलकहरू प्रस्तुत गर्नुभयो । उहाँले लाेकलयमा प्रसतुत गरेको गीतले धेरैलाई भावुक बनायो ।
कृतिका लेखक डा. टंकप्रसाद पन्थले लेखनको सन्दर्भ उठाउनुका साथै कृतिभित्रका लेखहरूकाे प्रकृतिलाई उल्लेख गरी, कृतिको भूमिका लेख्नुहुने व्यक्ति, प्रकाशक संस्था धवल पुस्तकालय, समीक्षक डा. गैरे , प्रमुख अतिथि लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।
क्याम्पस प्रमुख तथा विशिष्ट अतिथि टंकप्रसाद भट्टराईले डा. टंक पन्थकाे साहित्यिक तथा प्राज्ञिक भूमिकाकाे सन्दर्भ उठान गरी पछिल्लो समयमा त्रिभुवन बहुमुखी क्याम्पसकाे प्राज्ञिक गतिविधि सबल हुँदै गएको सुखद सन्दर्भसमेत सङ्केत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पाल्पा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले कृतिकार डा. टंक पन्थसँगकाे विद्यार्थी कालदेखिकाे मित्रतालाई स्मरण गरी साहित्यिक तथा प्राज्ञिक क्षेत्रमा साथीले गरेको प्रगतिले आफूलाई खुसी तुल्याएकाे विचार व्यक्त गर्नुभयो । सामाजिक रूपान्तरणमा लेखक साहित्यकारकाे जीवन्त भूमिका रहेको कुरा उहाँले उल्लेख गर्नुभयो । सामाजिक सञ्जालमा प्रस्तुत भएका डा. पन्थका सिर्जनाहरू आफूले नियालिरहेकाे र ती रचनाहरूले समाजको यथार्थलाई निर्भीक रूपमा प्रहार गरेको सन्दर्भसमेत उठाउनुभयो । यस्ता अरू कृतिहरू पनि निरन्तर रूपमा प्रकाशित हाेऊन् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा पुस्तकालयका अध्यक्ष युवराज पाैड्यालले कृतिकार डा. टंकप्रसाद पन्थकाे व्यक्तित्वलाई झल्काई कृति प्रकाशनकाे निरन्तरताको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अतिथि र उपस्थित सम्पूर्णप्रति आभारका साथ धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई शब्दद्वारा स्वागत गरी कृतिकारकाे सन्दर्भलाई जाेड्ने काम धवल पुस्तकालयका काेषाध्यक्ष सन्तोष खनालले गर्नुभयो । कार्यक्रमकाे सञ्चालन पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले गर्नुभएको हाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

